प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट : कर्णाली प्रदेशले हरायो लुम्बिनीलाई
काठमाडौं : प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत कर्णाली प्रदेशले लुम्बिनी प्रदेशलाई ६० रनले हराएको छ।
आज सिद्धार्थनगर रंगशालामा टस हारी पहिले ब्याटिङको निम्तो पाएको कर्णाली प्रदेशले निर्धारित ४५ ओभरमा नौ विकेट गुमाएर एक सय ८४ रन बनाएको थियो। जवाफी ब्याटिङमा ओर्लिएको लुम्बिनी प्रदेशले भने ४१.२ ओभरमा अलआउट हुनुअघि एक सय २४ रनमात्र बनाउन सक्यो।
लुम्बिनी प्रदेशका लागि कृष्ण कार्कीले सर्वाधिक ४७ रन बनाए। सातौँ नम्बरमा क्रिज समाल्न आएका कृष्णले ७७ बलको सामना गरी एक छक्का र तीन चौका पनि हिर्काएका थिए। ओपनर ब्याट्सम्यान मृनाल गुरुङले पनि २२ रन बनाएका थिए।
लुम्बिनी प्रदेशका अन्य ब्याट्सम्यानले भने गतिलो प्रदर्शन गर्न सकेनन्। मोहम्मद हुसैन १० रनमा पेभेलियन फर्किए। ओपनर सम्राट भुसाल आठ रनमै आउट भएका थिए।
टोलीको खातामा निर्मल गुरुङले पनि १० रन थपे। अभिषेक गौतमले नौ रन बनाए। लुम्बिनी प्रदेशले अतिरिक्त रुपमा पनि १५ रन पाएको थियो।
कर्णाली प्रदेशका बलर दिनेश अधिकारीले तीन विकेट लिए। अनुज चनरा र दीपेन्द्र रावतले पनि दुई–दुई विकेट हात पारे। दिवान पुनले पनि एक विकेट लिए।
त्यसअघि कर्णाली प्रदेशका माथिल्लो क्रमका ब्याट्सम्यान लामो समय क्रिजमा टिक्न सकेका थिएनन्। कर्णालीका लागि नवौँ नम्बरमा क्रिज समाल्न आएका दिनेश अधिकारीले अर्धशतकीय खेल खेले। उनले टोलीका लागि अविजित ५६ रनको योगदान गरे।
उनले केवल ५९ बलको सामना गरी दुई छक्का र ६ चौका पनि हिर्काए। दीपेन्द्र रावतले पनि टोलीका लागि ४७ रनको योगदान गरे। सातौँ नम्बरमा क्रिज समाल्न आएका उनले ६९ बलको सामना गरी एक छक्का र तीन चौका पनि हिर्काए।
चौथो नम्बरका ब्याट्सम्यान हिमांशु शाहीले पनि टोलीको खातामा २५ रन थपेका थिए। उनले ४२ बलको सामना गरी पाँच चौका प्रहार गरे। कप्तानसमेत रहेका ओपनर ब्याट्सम्यान रविन्द्र शाही भने ११ रन बनाउँदै आउट भएका थिए।
अर्का ओपनर राजेश खड्का सात रन बनाउँदै पेभेलियन फर्किए भने विपिन शाहीले खातासम्म खोल्न सकेनन्। दिवान पुन पनि शून्य रनमै आउट भए। विकेटकिपर ब्याट्सम्यान अर्जुन घर्ती पनि दुई रनभन्दा अगाडि बढ्न सकेनन्। प्रकाश जैसीले टोलीको खातामा ९ रन थपे।
कर्णाली प्रदेशले अतिरिक्त रुपमा पनि २७ रन पाएको थियो। लुम्बिनी प्रदेशका बलर अभिषेक गौतम र निर्मल गुरुङले तीन–तीन विकेट लिए।
मोहम्मद हुसैन, कृष्ण कार्की र अजय चौहानले पनि एक–एक विकेट लिए।
जारी प्रतियोगितामा तेस्रो खेल खेलेको कर्णाली प्रदेशले हासिल गरेको यो दोस्रो जित हो। कर्णाली प्रदेश यसअघि एक खेलमा विजयी र एक खेलमा पराजित भएको थियो।
लुम्बिनी प्रदेशको भने जारी प्रतियोगितामा यो दोस्रो हार हो। लुम्बिनी प्रदेश यसअघि एक खेलमा विजयी र एक खेलमा पराजित भएको थियो।
माघ ३, २०८० बुधबार १७:०१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।