भोजपुर पुगेर कृष्ण सिटौलाले भने- कोशीमा पहिचानको मुद्दा चाँडै समाधान हुन्छ

भोजपुर पुगेर कृष्ण सिटौलाले भने- कोशीमा पहिचानको मुद्दा चाँडै समाधान हुन्छ

 

काठमाडौं : नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले कोशी प्रदेशमा अहिले उठिरहेको पहिचानको मुद्दा छिट्टै समाधान हुने बताएका छन्।

राष्ट्रियसभा सदस्य निर्वाचनका उम्मेदवार समेत नेता सिटौलाले राष्ट्रियसभाको निर्वाचनपश्चात् यस विषयमा छलफल हुने बताए।

माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका सन्दर्भमा आज भोजपुरका जनप्रतिनिधिसँग कुरा गर्दै उनले संविधान र जनताका पक्षमा काम गर्ने दलका नेतालाई राष्ट्रियसभा निर्वाचनमा मतदान गर्न आग्रह गरे।

कोशी प्रदेशमा राष्ट्रियसभा निर्वाचनका लागि सत्ता गठबन्धनको साझा उम्मेदवार सिटौलाले भने, ‘संघीय लोकतान्त्रिक गणतन्त्रका पक्षमा उभिएको गठबन्धनका दललाई मत दिनुस्।’

‘यति ठूलो सङ्घर्ष र द्वन्द्व त समाधान भयो। पहिचानको विषयमा समाधान खोज्नका लागि आपसी समझदारी र छलफल आवश्यक छ’, सिटौलाले भने, ‘माघ ११ गतेको निर्वाचन पश्चात् राष्ट्रियसभाले पूर्णता पाउनेछ। पूर्णता पाए सँगै पहिचानको मुद्दामाथि छलफल सुरु भई समाधान निकाल्ने छौँ।’

 

माघ ३, २०८० बुधबार १५:१२:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।