खानेपानी मन्त्रालयले भन्यो– मेलम्चीको खानेपानी सफा छ, हल्लामा विश्वास नगर्नुस्

खानेपानी मन्त्रालयले भन्यो– मेलम्चीको खानेपानी सफा छ, हल्लामा विश्वास नगर्नुस्

काठमाडौं : खानेपानी मन्त्रालयले मेलम्चीको खानेपानी सफा रहेको दाबी गरेको छ।

मापदण्ड बमोजिम प्रशोधन गरी पानी पठाइएको भन्दै मन्त्रालयले हल्ला तथा भ्रममा नपर्न अपिल गरेको छ।

‘मेलम्ची खानेपानी आयोजनाको प्रशोधन केन्द्र सुन्दरीजलमा विश्व स्वास्थ्य संगठनको मापदण्ड बमोजिम प्रशोधन गरी प्रसारण गरिएको छ,’ मन्त्रालयले सार्वजनिक सूचना जारी गर्दै भनेकाे छ, ‘पुराना वितरण पाइप लाइनहरू लामो समयसम्म सञ्चालन नहुँदा पाइपमा रहेको माटोको अवशेषका कारण पानी वितरण क्रममा केही समय पानी धमिलो आउन सक्ने भए तापनि फ्लसिङसँगै क्रमशः सफा पानी प्रवाह हुन्छ।’

खानेपानीको गुणस्तरमा शंका नगर्न र बाहिरी हल्लाहरूको पछि नलाग्न मन्त्रालय मातहतका खानेपानी उत्पादन र वितरणसँग सम्बन्धित निकायहरूलाई आग्रह गरिएको छ।

मन्त्रालयले मेलम्ची खानेपानी सर्व सुलभ रूपमा सबै उपत्यकाबासीको घर घरमा सन्तुलित र समानुपातिक हिसाबले वितरण गर्न मन्त्रालय प्रयत्नशील रहेको पनि स्पष्ट पारेको छ।

 

माघ ३, २०८० बुधबार १४:४८:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।