अर्थ र गृह साटफेर गर्दै मन्त्रिपरिषद् फेरबदलको गृहकार्य : अर्थमा तयारी थाल्दै वर्षमान, रास्वपा मनाउँदै प्रधानमन्त्री

अर्थ र गृह साटफेर गर्दै मन्त्रिपरिषद् फेरबदलको गृहकार्य : अर्थमा तयारी थाल्दै वर्षमान, रास्वपा मनाउँदै प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्रीमा तेस्रो कार्यकालको दोस्रो वर्ष उपलब्धिमुलक बनाउन कस्सिएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड मन्त्रिपरिषद् फेरबदलको अन्तिम चरणमा देखिएका छन्।

उनी आफ्नो पार्टीसहित गठबन्धन दलका सदस्य समेत बदल्ने पक्षमा देखिएका छन्। प्रधानमन्त्री निकट स्रोतको दाबीअनुसार गठबन्धन दलका नेतृत्वसँग प्रधानमन्त्रीले छलफल सक्काइसकेका छन्।

अधिकांश दल मन्त्रिपरिषद्का सदस्य बदल्न सकारात्मक रहेको निकटस्रोतको दाबी छ। प्रधानमन्त्री प्रचण्डले मुख्य रूपमा अर्थ मन्त्रालयमा चासो राखेका छन् भने नेपाली कांग्रेसले गृहमा।

यी दुवै दलबीच यी दुई मन्त्रालय साटफेर हुने देखिन्छ। अर्थमा माओवादीबाट वर्षमान पुन भित्रिने लगभग तय भएको स्रोतको दाबी छ।

पुन निकट स्रोतले समेत प्रधानमन्त्रीले उनलाई सोही अनुसारको सन्देश दिएको पुष्टि गर्यो। उता अर्थमन्त्री डा. प्रकाशशरण महत निकट स्रोतले पनि मन्त्रालय बदलिन सक्ने संकेत आएको पुष्टि गर्यो।

माओवादीलाई अर्थ मन्त्रालय छाडेर गृह लिन कांग्रेस राजी देखिएको छ। एकथरीले वर्तमान अर्थमन्त्री महतलाई नै गृहको नेतृत्व दिन लबिङ गरिरहेको देखियो। विकल्पमा रमेश लेखकबारे समेत छलफल चलिरहेको देखियो।

‘प्रधानमन्त्रीले आफ्नो योजनाअनुसार काम गर्न आफ्नै पार्टीलाई अर्थ मन्त्रालयको नेतृत्व दिन पार्टी सभापतिसँग प्रस्ताव राख्नुभएको थियो। त्यसमा लगभग सहमति भइसकेको छ,’ देउवा निकटस्रोतले उकेरासँग भन्यो, ‘त्यसबापत गृह लिने तय भए पनि कसलाई पठाउने निर्णय भइसकेको छैन। सभापतिज्यू छलफलमै हुनुहुन्छ।’

दुवै दल अन्य मन्त्रीबारे पनि छलफलमा रहेको देखियो। तर, अर्थ र गृहबाहेक अन्य मन्त्रालय उही रहने देखिन्छ।

गठबन्धनबीचको छलफलमा एकीकृत समाजवादी पनि मन्त्री बदल्न सहमत देखिएको छ। उसले सबै मन्त्री बदल्ने सन्देश प्रधानमन्त्री प्रचण्डलाई दिइसकेको छ। एकीकृत समाजवादी आफ्नो भागमा परेको मन्त्रालय बदल्न चाहन्छ। त्यसका लागि प्रधानमन्त्रीलाई दवाव समेत बढाइरहेको देखिन्छ।

प्रधानमन्त्री प्रचण्डले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई नै सरकारमा आउन आग्रह गरेका छन्। पार्टी नेतृत्व नै सरकारमा आए निर्णय लिन सहज हुने उनको बुझाइ देखियो। तर, यादवले निर्णय दिइसकेका छैनन्।

मन्त्रिपरिषद् विस्तारमा जनमत पार्टी छुट्न सक्ने सम्भावना देखियो। गठबन्धनमा पनि बस्ने तर गठबन्धनको निर्णय नमान्ने सिके राउतको व्यवहारबाट प्रधानमन्त्री प्रचण्ड असन्तुष्ट छन्। उता राष्ट्रिय सभाको निर्वाचनमा सिट नदिएको भन्दै राउत पनि गठबन्धनसँग रिसाएका छन्।

‘राष्ट्रिय सभाको निर्वाचनपछि मन्त्रीहरू हेरफेर गर्ने गृहकार्य भइरहेको छ। माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाको नेतृत्व पनि सहमत हुनुहुन्छ’ स्रोतको दाबी छ, ‘जनमतलाई तत्काल गठबन्धन बाहिर राख्ने निर्णय भएको छैन। कांग्रेसको हकमा उहाँहरूले नै निर्णय गर्ने हो। तत्काल कुनै जानकारी आएको छैन।’

नागरिक उन्मुक्ति पार्टी भने तत्काल पार्टीबाट सरकारमा प्रतिनिधित्व गर्ने रन्जिता श्रेष्ठलाई बदल्ने पक्षमा देखिएको छैन। हालै पार्टीको महाधिवेशनबाट पार्टीको अध्यक्षबाट समेत उनी सह-अध्यक्षमा झरेर रेशम चौधरी अध्यक्ष भएका छन्। त्यसमै दुबैविच खटपट भएको थियो।

प्रधानमन्त्री प्रचण्ड राष्ट्रिय स्वतन्त्र पार्टीलाई सरकारमा ल्याउन तयार देखिएका छन्। रास्वपा पनि सरकारमा आउन राजी देखिए पनि मन्त्रालयमा कुरा नमिलेको स्रोतको दावी छ।

स्रोतका अनुसार प्रचण्डले दलको अन्य सांसदको नेतृत्वमा सरकारमा आउन रास्वपालाई प्रस्ताव गरिसकेका छन्। तर, रास्वपा सभापति रवि लामिछाने आफ्नो नेतृत्व भएमात्र सरकारमा जान तयार देखिएका छन्।

प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्य मन्त्रिपरिषद् फेरबदलबारे छलफल चलिरहे पनि कुनै निर्णय नभइसकेको दाबी गर्छन्। रास्वपाको हकमा प्रधानमन्त्री सकारात्मक रहेको उनले बताए।

‘रास्वपालाई सरकारबाहिर राख्ने निर्णय प्रधानमन्त्रीको हैन। उहाँहरू नै बाहिरिनुभयो,’ उनले उकेरासँग भने, ‘रास्वपालाई सरकारमा सहभागी गराउन प्रधानमन्त्री सकारात्मक हुनुहुन्छ। बाँकी त उहाँहरूले नै निर्णय गर्ने हो।’

माघ ३, २०८० बुधबार १३:१०:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।