प्रधानमन्त्री कपमा आर्मी ९७ रनमा अलआउट, सूर्य तामाङ एक्लैले लिए पाँच विकेट
काठमाडौं : प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको बुधबारको खेलमा त्रिभुवन आर्मी क्लब ९७ रनमा अलआउट भएको छ।
माथिल्लो मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको आर्मी २७.१ ओभरमा सबै विकेट गुमाएर ९७ रनमा समेटिएको हो।
विहान मैदान चिसो भएका कारण खेल ढिला सुरू भएको थियो। खेल ढिला सुरू भएपछि ४३ ओभरमा झारिएको थियो।
उसका लागि कप्तान विनोद भण्डारीले सर्वाधिक २८ रन जोड्दा भीम सार्कीले १८ र विवेक यादवले अविजित ११ रन बनाए। त्यसबाहेक अन्य खेलाडीले सम्झनलायक प्रदर्शन गरेनन्।
बागमतीका लागि ९ ओभर बलिङ गरेका सूर्य तामाङले २६ रन खर्चिएर पाँच विकेट लिए। रिजन ढकाल र प्रतिश जिसीले समान दुई–दुई विकेट लिँदा क्रिजन गुरुङले समान एक–एक विकेट लिए।
बागमतीले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ।
हालसम्मको नतिजाअनुसार एपीएफ क्लब दुई खेलमा चार अंकसहित अंकतालिकाको शीर्ष स्थानमा छ।
यस्तै सुदूरपश्चिम प्रदेश दोस्रो, नेपाल पुलिस क्लब तेस्रो, त्रिभुवन आर्मी क्लब चौथो, लुम्बिनी प्रदेश पाँचौं स्थानमा छन्।
बागमती, मधेश र कर्णाली क्रमश: छैटौं, सातौं र आठौं स्थानमा हुँदा गण्डकी र कर्णाली अंकविहीन हुँदै क्रमश: नवौं दशौं स्थानमा छन्।
प्रधानमन्त्री कप पहिलोपटक राउन्ड रोबिनको आधानमा भइरहेको छ। यसअघि समूह चरणमा हुने गरेको थियो।
राउन्ड रोबिनको आधारमा खेल हुँदा खेलाडीहरूले धेरै खेल खेल्ने मौका पाएका छन्।
माघ ३, २०८० बुधबार १२:२६:०३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।