सफ्टवेरिका कलेजको आयोजनामा ‘टेडएक्स सफ्वेरिका २०२४’ सफलतापूर्वक सम्पन्न

सफ्टवेरिका कलेजको आयोजनामा ‘टेडएक्स सफ्वेरिका २०२४’ सफलतापूर्वक सम्पन्न

काठमाडौं : सफ्टवेरिका कलेज अफ आईटी एण्ड ई-कमर्सले गत शुक्रबार नेपाल पर्यटन बोर्डको हलमा ‘टेडएक्स सफ्टवेरिका २०२४’ कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ।

‘विगतलाई अङ्गाल्दै, भविष्य कल्पना गर्दै’ भन्ने विषयवस्तुमा आधारित भएर ‘टेडएक्स सफ्टवेरिका २०२४’ आयोजना गरिएको हो। कार्यक्रममा सपना देख्ने र सपना पूरा गर्ने विभिन्न क्षेत्रका दिग्गज व्यक्तिहरू वक्ताका रूपमा उपस्थित भएका थिए।

उपस्थित दर्शकसँग उनीहरूले आ-आफ्नो अनुभव र बुझाइ बाँडेका थिए। जसले दर्शकहरूलाई निकै प्रोत्साहन गरेको थियो।

कार्यक्रममा वक्ताका रूपमा रहेकी हाइभलयका सह-संस्थापक प्रणयना केसीले महिला नेतृत्व, समानताको महत्व र वित्तीय क्षेत्रमा महिलाको भूमिकाबारे बताएकी थिइन्।

अर्का वक्ता नेपाल टी कलेक्टिभका सह-संस्थापक अमिगो खड्काले केही फरक गर्ने सपना लिएर नेपाल फर्केको आफ्नो प्रेरणादायी यात्रा सुनाएका थिए। साथै उनले नेपाली युवाहरूले सामना गरिरहेका हालका चुनौती र श्रम संस्कृतिलाई पुनः परिभाषित गर्नुपर्ने आवश्यकताबारे बताएका थिए।

नविल बैंकका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिल केशरी शाहले खुसी खोज्ने र आफ्नो सर्वश्रेष्ठ संस्करण हुनुपर्नेबारे आफ्नो विचार राखेका थिए। सोही क्रममा स्वास्थ्य, धन, शक्ति र राम्रो गर्ने इच्छा सबै महत्वपूर्ण कुरा भएको तर अन्ततः जीवनमा साँच्चै के महत्वपूर्ण छ भनेर गम्भीर हुनुपर्ने उनले धारणा राखेका थिए।

कार्यक्रममा उपस्थित भएका अर्का वक्ता रिपोर्टर क्लब तथा प्राइम टेलिभिजनका संस्थापक ऋषि धमला विद्यार्थीहरूलाई विभिन्न कार्यशालामा सहभागी हुन प्रेरित गरेका थिए। साथै उनले आईटी शिक्षा र रोजगारीलाई अझ राम्रो बनाउनेबारे आफ्नो विचार राखेका थिए।

त्यस्तै भूकम्प पीडितहरूलाई सहयोग गरेको तथा महिला सशक्तीकरणबारे हृदयस्पर्शी कथा कोक्रोमाकी संस्थापक तथा सामाजिक अभियन्ता रेवती गुरुङले सुनाएकी थिइन् भने खल्ती डिजिटल वालेटका प्रमुख विनय खड्काले सबैलाई आफुमा विश्वास गर्न, विगतबाट पाठ सिक्न, वर्तमानमा आनन्द लिन र भविष्यका लागि तयार रहन प्रोत्साहन गरेका थिए।

थमेल डटकमका सह-संस्थापक बालकृष्ण जोशीले विश्वव्यापीकरणबारे कुरा गर्दै नेपालमा काम गरेर विश्वभर पैसा कमाउने बारे सुनाएका थिए। यससँगै नेपालको प्रविधि कम्पनी र फ्रीलान्सरहरूले २०२२ मा आधा अर्ब डलरभन्दा बढी आम्दानी गरेको बताउँदै विश्वव्यापीकरणले देशको अर्थतन्त्रलाई ठूलो टेवा पुर्याउने बताएका थिए।

प्रविधि र नवप्रवर्तनको बारेमा छलफल जारी राख्न भविष्यमा पनि सफ्टवेरिका कलेजले यस्ता कार्यक्रमहरू अवश्य आयोजना गर्नेछ। सफ्टवेरिका कलेज यस्ता ज्ञान आदानप्रदान र सशक्तीकरणका लागि मञ्चहरू तयार गर्न प्रतिबद्ध छ। किनकी यस्ता कुराले समुदायको वृद्धि र विकास गर्न योगदान पुर्याउँछ।

माघ ३, २०८० बुधबार ११:३१:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।