फिन एलेनको विष्फोटक ब्याटिङमा न्युजिल्यान्डले दुई खेलअगावै जित्यो टी२०आई सिरिजको उपाधि

फिन एलेनको विष्फोटक ब्याटिङमा न्युजिल्यान्डले दुई खेलअगावै जित्यो टी२०आई सिरिजको उपाधि

एजेन्सी : ओपनर फिन एलेनले १६ छक्कासहित विष्फोटक शतकीय इनिङ खेलेपछि न्युजिल्यान्डले तेस्रो टि२० आई खेलमा पाकिस्तानलाई ४५ रनले हराउँदै दुई खेल अगावै सिरिज जितेको छ।

पाँच खेलको सिरिजमा ३-० को अग्रता लिएको हो।

जितको लागि २ सय २५ रनको विशाल विजयी लक्ष्य पछ्याएको पाकिस्तान २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ७९ रन बनायो।

पाकिस्तानका बाबर आजमले ३७ बलमा ८ चौका र १ छक्कासहित सर्वाधिक ५८ रन बनाए। अन्य कुनैपनि पाकिस्तानी ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन्।

ओपनर समै अयुब १०, मोहम्मद रिजवान २४, फखार जमान १९, मोहम्मद नवाज २८ र आजम खान १० रनमा आउट भए।

न्युजिल्यान्डका टिम साउथीले ४ ओभरमा २९ रन खर्चेर २ विकेट लिए। म्याट हेनरी, लोकी फर्गुसन, मिचेल सान्टनार र ईश सोधीले १–१ विकेट लिए।

त्यअसघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको न्युजिल्यान्डले निर्धाारित २० ओभरमा ७ विकेट गुमाउँदै २ सय २४ रन बनाएको थियो।

न्युजिल्यान्डका ओपनर फिन एलेनले ६२ बलमा ५ चौका र १६ छक्कासहित १ सय ३७ रनको विष्फोटक शतकीय इनिङ खेले। उनको यो टि२० आई करिअरको दोस्रो शतक हो। अन्तर्राष्ट्रिय क्रिकेट करिअरको उत्कृष्ट प्रदर्शन हो।

उनले टि२० आईमा एकै खेलमा सर्वाधिक छक्का हान्ने विश्व कीर्तिमान बराबर गरेका छन्। उनले अफगानिस्तानका ओपनर हज्रातुल्लाह जजाईले २०१९ मा आयरल्यान्डविरुद्ध हानेको १६ छक्काको विश्व कीर्तिमान बराबर गरेका हुन्।

त्यस्तै उनी न्युजिल्यान्डबाट एकै टि२० आई खेलमा सर्वाधिक रन बनाउने ब्याटर पनि बनेका छन्। उनले सन् २०१२ मा पूर्वकप्तान ब्रेन्डन म्याककुलेमको बंगलादेशविरुद्ध १ सय २३ रनको कीर्तिमान तोडेका हुन्।

पाकिस्तानका हरिस रौफले ४ ओभरमा ६० रन खर्चेर २ विकेट लिए। शाहिन शाह अफ्रिदी, जमान खान, मोहम्मद नवाज र मोेहम्मद वासिमले १-१ विकेट लिन सफल भए।

अब चौथो खेल शुक्रबार र अन्तिम खेल आइतबार हुनेछ।

माघ ३, २०८० बुधबार ११:११:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।