मेलम्ची खानेपानीको गुणस्तरमा शंका नगर्न सरकारको अपिल

मेलम्ची खानेपानीको गुणस्तरमा शंका नगर्न सरकारको अपिल

काठमाडौं : सरकारले काठमाडौं उपत्यकावासीलाई मेलम्ची खानेपानीको गुणस्तरमा शंका नगर्न आग्रह गरेको छ।

बुधबार खानेपानी मन्त्रालयले एक सूचना निकालेर मेलम्ची खानेपानी विश्व स्वास्थ्य संगठनको मापदण्ड बमोजिम प्रशोधन गरी वितरण गरेकाले शंका नगर्न अपिल गरेको हो।

मन्त्रालयले पुराना पाइप लाइनहरू लामो समयसम्म सञ्चालन नहुँदा माटोको अवशेषका कारण पानी वितरण क्रममा केही समय पानी धमिलो आउनसक्ने भए पनि क्रमशः सफा पानी प्रवाह हुँदै जाने बताएको छ।

पानी वितरणका क्रममा अनुगमन गर्नका लागि मेलम्ची खानेपानी विकास समिति आयोजना कार्यान्वयन निर्देशनालय तथा काठमाडौं उपत्यका खानेपानी लिमिटेडका प्रतिनिधि सम्मिलित सहजीकरण समिति गठन गरिएको छ।

पदमबहादुर कुवँरको संयोजकत्वमा गठित चार सदस्यीय समितिलाई समस्याबारे जानकारी गराउन पनि मन्त्रालयले अपिल गरेको छ।

माघ ३, २०८० बुधबार ०८:११:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।