माल्टा र चेक रिपब्लिक पठाउने प्रलोभनमा ठगी, दुई जना पक्राउ

माल्टा र चेक रिपब्लिक पठाउने प्रलोभनमा ठगी, दुई जना पक्राउ

काठमाडौँ : वैदेशिक रोजगारीका लागि माल्टा र चेक रिपब्लिक पठाइदिने भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्। अलग-अलग घटनामा ठगी गरेको आरोपमा मायादेवी राना र विकास राई पक्राउ परेका हुन्।

राना ४३ लाख ठगी गरेको आरोपमा पक्राउ परेकी हुन्। उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो।

पाल्पा बग्नासकालीकी उनी काठमाडौँको स्वयम्भूमा बस्दै आएकी थिइन्।  उनले दीपकराज कँडेल समेतलाई वैदेशिक रोजगारीको लागि माल्टा पठाइदिने भन्दै प्रतिव्यक्ति आठ लाख रूपैयाँ लिएको प्रहरीको दाबी छ।

माल्टा पुगेपछि होटेलमा काम लगाइदिन्छु र मासिक एक लाख ५० हजार रूपैयाँ तलब हुने भन्दै प्रलोभनमा पारेर पटक पटक गरी ४३ लाख रूपैयाँ लिएर सम्पर्कबाहिर भएको प्रहरीको दाबी छ।

कार्यालयले राईलाई दिवान गिरी समेतलाई वैदेशिक रोजगारीको लागि चेक रिपब्लिक पठाइदिन्छु र प्रतिव्यक्ति १३ लाख लाग्छ भन्दै एक लाख ८०  हजार रूपैयाँ लिएर सम्पर्कबाहिर भएको आरोपमा कलङ्कीबाट उनलाई  पक्राउ गरेको हो। उनीहरूलाई थप अनुसन्धानका लागि वैदेशिक रोजगार विभागमा बुझाएको कार्यालयले जानकारी दिएको छ।

माघ २, २०८० मंगलबार १८:५६:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।