प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट : बागमती प्रदेशको पहिलो जित
काठमाडौं : प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले पहिलो जित निकालेको छ।
आज मूलपानी क्रिकेट मैदानमा बागमतीले मधेश प्रदेशलाई ८६ रनले पराजित गरेको हो।
बागमतीले प्रस्तुत गरेको १९१ रनको लक्ष्य पछ्याउने क्रममा मधेशले २९ ओभरमा सबै विकेट गुमाएर १०४ रन मात्र बनाउन सक्यो। सूर्य तामाङले २९ औँ ओभरमा ह्याट्रिकसँगै चार विकेट लिँदा मधेश यत्तिकैमा समेटियो।
उनले २९ औँ ओभरको पहिलो बलमा मधेशका रुपेश सिंहलाई, दोस्रो बलमा राजेश यादवलाई र तेस्रो बलमा सम्साद अन्सारीलाई पभेलियन पठाए।
उनले सोही ओभरको अन्तिम बलमा रञ्जित कुमारलाई पनि आउट गरेका थिए। नौ ओभर बलिङ गर्दा सूर्यले तीन मेडन फ्याँक्दै १८ रन खर्चिएर ६ विकेट लिए। प्रतिश जिसी र इशान पाण्डेले समान दुई विकेट लिए।
मधेशका पवन सर्राफले ४५ रन बनाए। मयन यादवले ३१ र निरज यादवले १५ रन थपे।
त्यसअघि, टस हारेर ब्याटिङमा उत्रिएको बागमतीले ४९.२ ओभरमा सबै विकेट गुमाएर १९० रन बनाएको थियो।
बागमतीका प्रतिश जिसीले ५९ रन जोडे। रविन जोशीले २१, इशान पाण्डेले १५, विपीन आचार्यले १३ र कप्तान रित गौतमले १२ रन बनाए। मधेशका रुपेश सिंह र अरनिको यादवले समान दुई विकेट लिए।
राजेश यादव, रञ्जित कुमार, हरिशंकर साह र पवन सर्राफले एक/एक विकेट लिए।
जितसँगै बागमतीले तीन खेलबाट दुई अंक जोडेको छ। मधेशको पनि तीन खेलबाट दुई अंक नै छ।
माघ २, २०८० मंगलबार १७:३७:४८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।