जब भुवन केसीले प्रदीप खड्कालाई 'सुपरस्टार' भने, रोकिएन प्रदीपको हाँसो

जब भुवन केसीले प्रदीप खड्कालाई 'सुपरस्टार' भने, रोकिएन प्रदीपको हाँसो

काठमाडौं : एक समय यस्तो थियो, चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी र अभिनेता प्रदीप खड्काबीच पानी बाराबार जस्तो देखिन्थ्यो।

फिल्म ‘प्रकाश’को समयमा बोर्डले आफ्नो फिल्मलाई हलमा उचित स्थान नदिएको भन्दै अभिनेता खड्का भुवन विरुद्ध खनिएका थिए। बोर्डसँग रुष्ट बनेका प्रदीप बोर्डले दिने अवार्ड कार्यक्रममा समेत सरिक भएनन्।

उनी बोर्डसँग निकै रुष्ट थिए। भुवन र प्रदीपबीच बोलचाल नै बन्द भएको थियो।

तर, आजको एक कार्यक्रममा भने फरक दृश्य देखियो। 

नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)को ७ औँ अन्तराष्ट्रिय फिल्म महोत्सवको घोषणा कार्यक्रममा भुवन र प्रदीप अतिथिका रुपमा पुगेका थिए। अबेला गरि कार्यक्रममा पुगेका भुवन र प्रदीपले आफूहरू बीचको सम्बन्ध ठिक रहेको र बोलचाल समेत रहेको भन्दै देखाउन ड्यासमा नै के छ, कसो छ भनेर सोधासोध गरे।

उनीहरू गफिइरहेको दृश्य उपस्थित पत्रकारहरूलाई निकै चासोको विषय बन्यो। अधिकांशले कार्यक्रममा बोल्नेसँग भन्दा पनि भुवन र प्रदीप बीचको भनाइलाई चनाखोका साथ लिएको पाइयो।

कार्यक्रमका प्रमुख अतिथि बनेका भुवन केसी बोल्ने पालो अन्तिममा थियो। त्यो भन्दा अघि अतिथि प्रदीप खड्काको पालो आयो। उनले धेरैजसो अन्तराष्ट्रिय फिल्ममा नेपाली फिल्म पुर्याउने कुरामा मन्तव्य राखे। उनले हल्का रुपमा अतिथि तथा प्रमुख अतिथिलाई सम्बोधन गरेर आफ्नो थप भनाइहरू राखेर टुङ्ग्याइदिए।

तर, बोर्डका अध्यक्ष भुवन केसीले कार्यक्रममा उपस्थित भएका अभिनेता नीर शाहदेखि सबैलाई सम्बोधन गरे।

आफ्नो छोरो अनमोललाई स्टार बनाउन लागेको आरोप खेपिरहेका भुवनले प्रदीप खड्कालाई 'सुपरस्टार' भनेर सम्बोधन गरिदिए। उनले सुपरस्टार भनेर सम्बोधन गरेपछि नीर शाह र प्रदीपले हेराहेर गरेर मुसुक्क मुस्कुराए। उनीहरू भुवनको कुराबाट सन्तुष्ट जस्तो बनेको देखियो।

फिल्म ‘प्रकाश’को समयमा चिसिएको सम्बन्ध निफमा आइपुग्दा के सुधारिएको हो? या पत्रकारमाझ चिसिएको सम्बन्ध सुधारिँदैछ भनेर देखाउन खोजिएको त्यो भने उनीहरूले नै जानून्।

माघ २, २०८० मंगलबार १७:१४:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।