प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट : पुलिसले ७ विकेटले हरायो कोशी प्रदेशलाई
काठमाडौं : प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले कोशी प्रदेशलाई सात विकेटले पराजित गरेको छ।
आज कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा कोशीले प्रस्तुत गरेको १६७ रनको लक्ष्य पुलिसले २३.१ ओभरमा तीन विकेट गुमाएर पूरा गर्यो।
पुलिसको जितमा अर्जुन साउदले ६२ रन बनाए। कप्तान दीपेन्द्रसिंह ऐरीले ३८, दिलीप नाथले ३१, सुनील धमलाले १६ र कुशल भुर्तेल १२ रन जोडे।
कोशीका कमल खत्रीले दुई र सोनु मण्डलले एक विकेट लिए। त्यसअघि, टस हारेर ब्याटिङमा उत्रिएको कोशीले सुजन थपलियाले शतकको साथमा ४८.२ ओभरमा सबै विकेट गुमाएर १६६ रन बनाएको थियो। सुजनले १२६ बलमा ६ चौका र ८ छक्कासहित १०५ रन जोडे।
क्रिजको एक एन्डबाट लगातार विकेट गए पनि सुजनले अर्को एन्ड सम्हालेका थिए। आभ्युस तिम्सिनाले २३ र कप्तान अंकित सुवेदीले १० रन जोडे।
यस बाहेक कोशीका अरू खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्।
पुलिसका करण केसीले तीन विकेट लिए। सुनील धमला र ललित राजवंशीले समान दुई विकेट लिए। राशिद खान, सागर ढकाल र कुशल भुर्तेलले एक/एक विकेट लिए।
लगातार दोस्रो जित निकालेको पुलिस क्लब तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। लगातार तेस्रो हार व्यहोरेको कोशी अन्तिममा छ।
माघ २, २०८० मंगलबार १६:११:०९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।