नोबेल शान्ति पुरस्कार विजेता नर्गिसको जेल सजाय १५ महिना थप

नोबेल शान्ति पुरस्कार विजेता नर्गिसको जेल सजाय १५ महिना थप

एजेन्सी : इरानको रिभ्यूलुशनरी अदालतले नोबेल शान्ति पुरस्कार विजेता नरगिस मोहम्मदीको जेल सजाय १५ महिना थप गरेको छ।

मोहम्मदीले यसअघि पनि विभिन्न मुद्दामा १२ वर्षको जेल सजाय भोगिसकेकी छन्। उनी जेलमा रहँदा इस्लामिक गणतन्त्र इरानविरुद्ध प्रचार गरेको आरोप लगाइएको छ।

मोहम्मदीको परिवारले पछिल्लो निर्णयको विरोध गरेको छ। सन् २०२१ को मार्चदेखि मोहम्मदीलाई सजाय दिइएको यो पाँचौं पटक भएको परिवारले जनाएको छ।

पछिल्लो सुनुवाइमा उनको अनुपस्थितिमा सजाय सुनाइएको थियो। नर्गिस मोहम्मदीले दशकौंदेखि इरानमा मानवअधिकारका लागि आवाज उठाइरहेकी छन्।

उनी पछिल्ला दुई दशकदेखि जेल जाँदै बाहिरिँदै आएकी छन्। उनी अहिलेसम्म १३ पटक पक्राउ परेकी छन् र यस अवधिमा उनले ३१ वर्ष जेल जीवन बिताइसकेका छन्।

१५ महिनाको थप सजायसँगै उनलाई तेहरानबाट बाहिर निकाल्न पनि आदेश दिइएको छ। यसको मतलब उसलाई इभिन जेलबाट कतै लगिनेछ।

पछिल्लो आदेशमा मोहम्मदीको जेल सजाय पूरा भएपछि दुई वर्षसम्म विदेश जानसमेत प्रतिबन्ध लगाइएको छ।

यो दुई वर्षको अवधिमा उनी कुनै राजनीतिक दल वा समूहको सदस्य बन्न नपाउने र माेबाइलसमेत चलाउन प्रतिबन्ध लगाइएको छ।

५१ वर्षीय मानवअधिकार कार्यकर्ता मोहम्मदीले धेरै धम्की र गिरफ्तारीको बाबजुद आफ्नो काम जारी राख्दै आएकी छन्।

इरानमा महिला उत्पीडनविरुद्ध आवाज उठाएकोमा उनलाई गत वर्ष २०२३ को नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थियो। उनको स्थानमा मोहम्मदीका सन्तानले अवार्ड ग्रहण गरेका थिए।

माघ २, २०८० मंगलबार १३:२९:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।