आयल निगमको कार्यकारी निर्देशकमा १४ जनाले दिए आवेदन

आयल निगमको कार्यकारी निर्देशकमा १४ जनाले दिए आवेदन

काठमाडौं : नेपाल आयल निगमको रिक्त कार्यकारी निर्देशक पदका लागि १४ जनाको आवेदन परेको छ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले खुला प्रतिस्पर्धाका लागि योग्यता पुगेका इच्छुक उम्मेदवारहरूबाट आवेदन माग गरेकोमा १४ जनाले आवेदन बुझाएका छन्।

आवेदन दिनेमा महोत्तरीका कमलेन्द्रलाल कर्ण, काठमाडौँका उत्तरकुमार रेग्मी, दिलीप शेखर श्रेष्ठ, चितवनका डोलप्रसाद चापागाईं, काठमाडौँका सहदेव चन्द, पंकजकुमार दास, धनुषाका रामदेव यादव, सप्तरीका सञ्जीवकुमार देव, मोरङका माधव रेग्मी र आमोदप्रसाद चौधरी, गोरखाका चण्डिकाप्रसाद, दाङका वसन्तकुमार पाण्डे, बागलुङका डोलिन्द्रप्रसाद शर्मा र ललितपुरका शत्रुधनप्रसाद पुडासैनी रहेको मन्त्रालयले जनाएको छ।

२०७८ फागुनमा तीन वर्षे कार्यकालका लागि नियुक्त भएका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले गत मङ्सिर २६ मा राजीनामा दिएपछि निगमको कार्यकारी निर्देशक पद रिक्त छ। थानीले कार्यकाल सकिन १५ महिना बाँकी हुँदै राजीनामा दिएपछि मन्त्रालयले गत पुस ७ मा २१ दिनभित्र आवेदन दिन भनेको थियो।

आवेदन दिएका उम्मेदवारबाट व्यावसायिक कार्य योजनाको प्रस्तुतीकरण, अन्तर्वार्ता हुन्छ। सोही विधिबाट ३ जना छनोट गरी मन्त्रिपरिषदमा पेस हुन्छ। तीमध्ये मन्त्रिपरिषदले एक जनालाई कार्यकारी निर्देशक नियुक्त गर्ने प्रावधान हुने मन्त्रालयका प्रवक्ता गजेन्द्र ठाकुरले जानकारी दिए।

माघ २, २०८० मंगलबार १३:१८:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।