प्रधानमन्त्री कप : सुदूरपश्चिम कर्णालीलाई दियो २७८ को लक्ष्य, बागमती १९० र कोशी १६६ रनमा अलआउट

प्रधानमन्त्री कप : सुदूरपश्चिम कर्णालीलाई दियो २७८ को लक्ष्य, बागमती १९० र कोशी १६६ रनमा अलआउट
शतक प्रहार गर्ने कोशी प्रदेशका खेलाडी सुजन थपलिया। तस्बिर-क्यान

काठमाडौं : प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा मंगलबारको खेलमा सुदूरपश्चिम प्रदेशले कर्णाली प्रदेशलाई २७८ रनको लक्ष्य दिएको छ।

भैरहवास्थित सिद्धार्थ रंगशालामा टस हारेर पहिला ब्याटिङमा तानिएको सुदूरपश्चिम प्रदेशले निर्धारित ५० ओभरमा पाँच विकेट गुमाएर २७७ रन बनायो।

उसका लागि खडक बोहराले ८०, टेक रावतले ५९, किरण ठगुन्नाले ५० रनको अर्धशतकीय पारी खेले। कप्तान राजु रिजाल १९, नरेन भट्टले १५ रनमा आउट हुँदा नारायण जोशी ३१ रनमा अविजित रहे।

बलिङतर्फ कर्णालीका दिनेश अधिकारी, युनिस सिंह, प्रकाश जैसी र दिपेन्द्र रावतले समान एक-एक विकेट लिए।

उता कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा कोशीले विभागीय टिम नेपाल पुलिस क्लबलाई १६७ रनको लक्ष्य दियो।

टस हारेर पहिला ब्याटिङमा तानिएको कोशी ६४ रन बनाउँदा ७ विकेट गुमाइसकेको थियो। त्यस्तो अवस्थाबाट टिमलाई सुजन थपलिया र अभ्यास तिमिल्सिनाले माथि उकासे।

सुजनले १०५ रनको शतकीय पारी खेल्दा अभ्यासले २३ रन बनाएर उनलाई साथ दिए। त्यसबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्।

पुलिसका करण केसीले तीन, ललित राजवंशी र सुनिल धमलाले समान दुई-दुई तथा रसिद खान, सागर ढकाल र कुशल भुर्तेलले समान एक-एक विकेट लिए।

त्यसैगरी मुलपानी क्रिकेट मैदानमा भएको खेलमा बागमतीले मधेश प्रदेशलाई १९१ रनको लक्ष्य दियो।

टस हारेर पहिला ब्याटिङमा तानिएको बागमतीले ४९.२ ओभरमा अलआउट हुँदै १९० रनमा समेटियो। उसका लागि प्रतिश जिसीले ५९ रनको अर्धशतकीय पारी खेले।

मधेशका बलरले ३८ रन अतिरिक्त दिँदा रविन जोशीले २१, इशान पाण्डेले १५, विपिन आचार्यले १३, कप्तान रित गौतमले १२ र रिजन ढकालले ११ रन जोडे।

मधेशका अरनिको यादव र रुपेश सिंहले समान दुई-दुई विकेट लिँदा, हरिशंकर शाह, राजेश यादव, पवन शर्राफ र रञ्जित कुमारले समान एक-एक विकेट लिए।

कर्णाली प्रदेश, नेपाल पुलिस क्लब र मधेश प्रदेशले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछन्।

पहिलोपटक राउन्ठ रोबिन लिगमा सञ्चालन भएको प्रतियोगितामा सशस्त्र प्रहरी बलको एपीएफ क्लब दुई खेलबाट चार अंकसहित पहिलो स्थानमा हुँदा त्रिभुवन आर्मी क्लब दोस्रो स्थानमा छ।

सुदूरपश्चिम तेस्रो, नेपाल पुलिस क्लब चौथो, कर्णाली पाँचौं, मधेश छैटौं, लुम्बिनी सातौं र गण्डकी आठौं स्थानमा हुँदा नवौं र दशौं स्थानमा क्रमशः बागमती र कोशी प्रदेश छ। 

माघ २, २०८० मंगलबार १२:४१:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।