रिभोलुसनरी गार्डद्वारा इराकमा रहेको इजरायली जासुसको मुख्यालयमा एयर स्ट्राइक

रिभोलुसनरी गार्डद्वारा इराकमा रहेको इजरायली जासुसको मुख्यालयमा एयर स्ट्राइक

एजेन्सी : इराकमा रहेको इजरायली जासूस मोसाद मुख्यालयमा इरानी सशस्त्र बलको बहु-सेवा प्राथमिक शाखा रिभोलुसनरी गार्डले एयर स्ट्राइक गरेको छ।

इराकको अर्ध स्वायत्त कुर्द क्षेत्रमा यो आक्रमण गरिएको इरानले जनाएको छ। एयर स्ट्राइक गरिएको ठाउँबाट केही दुरीमा अमेरिकी वाणिज्य दूतावास छ।

कुर्दिश क्षेत्रीय सरकारको सुरक्षा परिषद्का अनुसार आक्रमणमा चार जनाको मृत्यु भएको छ भने छ जना घाइते भएको समाचार एजेन्सी एपीले जनाएको छ।

रोयटर्सका अनुसार रिभोलुसनरी गार्ड्सले सिरियामा इस्लामिक स्टेट विरुद्ध पनि आक्रमण गरेको बताएको छ।

हमास र इजरायलबीच जारी युद्ध क्षेत्रभर फैलिने खतरा रहेको बेला यी आक्रमणहरू भएका हुन्।

रिभोलुसनरी गार्डले आफ्नो विज्ञप्तिमा भनेको छ, ‘यहूदी शासनको हालैको अत्याचारको प्रतिक्रियामा हामीले इराकको कुर्दिश क्षेत्रमा अवस्थित मोसाद मुख्यालयलाई ब्यालेस्टिक मिसाइलले ध्वस्त पारेका छौँ।’

गत महिना इरानले दमास्कसमा इजरायली हमलामा एक शीर्ष इरानी जनरल सेयद राजी मौसावी मारिएको बताएको थियो।

माघ २, २०८० मंगलबार ११:१८:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।