काठमाडौं महानगरको कार्यक्रममा गएर उपप्रधानमन्त्री श्रेष्ठले भने, ‘भूकम्पीय सुरक्षाका लागि हातेमालो गरौँ’

काठमाडौं महानगरको कार्यक्रममा गएर उपप्रधानमन्त्री श्रेष्ठले भने, ‘भूकम्पीय सुरक्षाका लागि हातेमालो गरौँ’

काठमाडौं : उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले काठमाडौं उपत्यका विश्वकै भूकम्पीय जोखिम क्षेत्र मध्येमा पर्ने भएकोले जोखिम न्यूनीकरणका लागि सबै तहका सरकारले हातेमालो गर्नुपर्ने बताएका छन्।

२६औं भूकम्प सुरक्षा दिवसको अवसरमा काठमाडौं महानगरपालिकाद्वारा भूगोल पार्कमा आयोजित कार्यक्रममा प्रमुख अतिथिको रूपमा बाेल्दै उपप्रधानमन्त्री श्रेष्ठले भूकम्पीय सुरक्षााका लागि हातेमालो गरेर अघि बढ्नुको विकल्प नभएको बताएका हुन्।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले गरेको एक अध्ययनले काठमाडौं उपत्यकाका ५३ वटा भवन, संरचना र चारवटा सडक पुल भूकम्पीय जोखिमले संवेदनशील देखाएकोले तिनको पुनर्निर्माण गर्नुपर्ने उनले बताए।

संघीय सरकार पालिकाहरूलाई सामर्थ्यवान बनाउन मिलेर काम गर्न तयार रहेको र सबै स्थानीय तहलाई आपतकालीन कार्यसञ्चालनका लागि औजार तथा उपकरण उपलब्ध गराउँदै आएको समेत उनले बताए।

विपद् व्यवस्थापनमा खटिने स्वंसेवकलाई राष्ट्रिय प्रणालीमा आबद्ध गर्ने प्रक्रिया सुरू भएको र त्यसमा काठमाडौं महानगरले पनि पहल लिएकोमा उनले खुशी व्यक्त गरे। जाजरकोट भूकम्पमा एम्बुलेन्स र अन्य सहयोग गरेकोमा पनि उनले महानगरको प्रशंशा गरे। 

विद्यमान सबै संरचनाहरूको जोखिम आँकलन गर्ने, प्रबलीकरण लगायतका विधि प्रयोग गरी सुरक्षित बनाउने र नयाँ बन्ने भवन तथा संरचना सुरक्षित हुनेगरी संहिता पालना गर्न,गराउनमा महानगरले अग्रणी भूमिका खेल्ने विश्वास उपप्रधानमन्त्री एवं गृहमन्त्री श्रेष्ठले व्यक्त गर्नुभयो।

महानगरकी उपमेयर सुनिता डङ्गोल, नेपाल प्रहरीका महानिरीक्षक बसन्तबहादुर कुवर, शसस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल, राष्ट्रिय विपद् जोखिम तथा न्यूनीकरण प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेल, महानगरका निमित्त प्रशासकीय अधिकृत सीताराम कोइराला समेत उपस्थित कार्यक्रममा विपदका बेला भूमिका खेल्ने कर्मचारी र सुरक्षाकर्मीलाई पुरस्कृत गरिएको थियो।

माघ २, २०८० मंगलबार १०:१२:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।