घोराही सिमेन्ट्सले सेयरधनीलाई १५ प्रतिशत बोनस शेयर दिने
काठमाडौं : घोराही सिमेन्ट्स इन्डस्ट्री लिमिटेडले सेयरधनीलाई १५ प्रतिशत लाभांश वितरण गर्ने भएको हो।
शनिबार दाङको घोराहीमा सम्पन्न कम्पनीको तेस्रो वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७९/८० सम्मको सञ्चित मुनाफाबाट सेयरधनीलाई १५ प्रतिशतका दरले बोनश शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको हो।
साधारण सभामा घोराही सिमेन्टले प्रतिकुलताका बाबजुद आव २०७९/८० मा ६ करोड ३१ लाख मुनाफा आर्जन गरेको र आव २०८०/८१ को मंसिर महिनासम्म एक अर्ब ४२ करोड २५ लाख बराबरको सिमेन्ट बिक्रि गर्न सफल भएको अध्यक्ष पुरुषोत्तम लाल संघईले जानकारी दिएका छन्।
आर्थिक वर्ष २०७९/८० सम्मको सञ्चित मुनाफाबाट सेयरधनीलाई चुक्ता पूँजी ३ अर्ब ९७ करोड १९ लाखको १४.२५ प्रतिशतका दरले ५६ करोड ५९ लाख रुपैयाँ बराबरको वोनस सेयर र ०.७५ प्रतिशतका दरले (कर प्रयोजनका लागि) २ करोड ९७ लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
हाल कम्पनीको अधिकृत पूँजी ६ अर्ब ८० करोड र जारी तथा चुक्ता पूँजी ३ अर्ब ९७ करोड १९ लाख रुपैयाँ रहेकोमा १४.२५ प्रतिशतका दरले बोनस सेयर वितरण गरे पश्चात कम्पनीको जारी तथा चुक्ता पूँजीमा वृद्धि भई ४ अर्ब ५३ करोड रुपैयाँ कायम हुनेछ।
त्यस्तै कम्पनिको संचालक समितिका सदस्य गोविन्द लाल संघई र हर्षवर्धन संघईले कार्य अवधि बाँकी हुदै व्यक्तिगत कारणले २०८० कार्तिक २ गते राजीनामा दिएकाले सोहि मितिमा रिक्त रहेको सञ्चालक पदमा अन्जु संघई र विवेक अग्रवाललाई नियुक्त गरिएको अध्यक्ष संघईले जानकारी दिएका छन्।
योसँगै कम्पनीको संस्थापक समूहमा पाँच जना सञ्चालक भएका छन्।
माघ २, २०८० मंगलबार ०८:३३:४७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।