स्विमिङ पुलमा करेन्ट : छोरीसहित स्विमिङ गर्न गएका सजिलमान कोमामा, घटनाको साढे चार महिनापछि मात्र दर्ता भयो जाहेरी

स्विमिङ पुलमा करेन्ट : छोरीसहित स्विमिङ गर्न गएका सजिलमान कोमामा, घटनाको साढे चार महिनापछि मात्र दर्ता भयो जाहेरी

ललितपुर : ललितपुरका ४० वर्षीय सजिलमान शाक्य भदौ १५ मा श्रीमती र साढे दुई वर्षकी छोरी लिएर स्विमिङ गर्न घर नजिकैको होटेल स्क्वायर पुगे। त्यहाँ 'हिटेड पुल' भएकोले रिजर्भेसन गरेर गएका थिए।

होटेलको छतमा थियो स्विमिङ पुल। पुलमा छोरी र उनी उत्रिए। पुल त्यति गहिरो पनि थिएन। श्रीमती फोटो खिच्दै थिइन्।

बाउछोरी केहीबेर पानीमा खेलिरहे। चस्मा मिलाउन उनकी श्रीमतीले छोरीलाई पुल बाहिर निकालिन्। चस्मा मिलाउँदै श्रीमान्तिर हेर्दा सजिलमान दुवै हात उचालेर कामिरहेका थिए।

छोरीलाई जिस्काएर बोलाइरहेको जस्तो लाग्यो उनलाई। उनले जिस्किएर हात समाउन खोज्दा झट्का लाग्यो। उनी डुब्न लागेपछि उनले पुन समाउन खोज्दा होटेलका स्टाफ आएर तत्काल होटेलकै गाडीमा मेडीसिट अस्पताल लगियो।

सजिलमानलाई स्वीमिङको राम्रो ज्ञान थियो। त्यसबेला स्वास्थ्य अवस्था पनि ठिक रहेको परिवारको दाबी छ। पूर्णरुपमा अचेत अवस्थामा अस्पताल पुर्याइएका उनको अहिलेसम्म होस् खुलेको छैन। हातको नाडीमा जलेको दाग छन्। चिकित्सकले उनको मस्तिष्कमा आवश्यक अक्सिजन नपुग्दा गम्भीर आघात पुगेको बताए।

करिब दुई महिना अस्पतालमा उपचार गर्दा पनि उनी कोमामा रहे। अनि चिकित्सककै सल्लाहमा परिवारले उनलाई घरमा ल्याए। घरमै आइसियुको वातावरण बनाएर उनको उपचार भइरहेको छ।

OOO

श्रीमतीले हात समात्दा झड्का हान्नु अनि हातको नाडीमा डढेकाले हिटिङकोक्रममा स्विमिङ पुलमा विद्धुत सटहुँदा दुर्घटना भएको देखिन्छ।

घटनाबारे सजिलको परिवारले प्रहरीमा जाहेरी दिने प्रयास गर्यो। तर चार महिनासम्म जिल्ला प्रहरी परिसर ललितपुरले जाहेरी लिएन। त्यसपछि उनीहरू प्रक्रिया अनुसार जिल्ला सरकारी वकिलको कार्यालय ललितपुर गएर होटेल सञ्चालकविरुद्ध ज्यान उद्ध्योगमा जाहेरी दिए। त्यता पनि पहिला सहमतिकै प्रयास भएको परिवारको दाबी छ।

परिवार जाहेरी दर्ताको पक्षमा अडिदा सरकारी वकिलको कार्यालयले जाहेरी दर्ता गरेर अनुसन्धानका लागि प्रहरी कार्यालय पठाएको छ।

आइतबार पीडित पक्षले होटलअघि शान्तिपूर्वक विरोध प्रदर्शन समेत गरेका थिए।

'जाहेरी बल्ल हिजो दर्ता भयो,' सजिलका भाइ विवेक शाक्यले उकेरासँग भने'हामीले घटना घटेकै समयदेखि जाहेरी दिन खोजेका थियौँ। तर प्रहरी सधैँ दुवैपक्ष राखेर मेलमिलाप गराउनेमै सीमित भयो। मेलमिलाप भए पनि, नभए पनि कानुनी प्रक्रियामा त पहिला नै जानुपर्थ्यो।'

सरकारी वकिल कार्यालयमा मुद्दा दर्ता गर्दा पनि धेरै झन्झट बेहोर्न परेको उनले बताए। उनका अनुसार त्यहाँ समेत सकेसम्म दुबै पक्ष राखेर मेलमिलाप गराउने प्रयास भएको थियो। तर परिवार जाहेरीको पक्षमा उभियो।

'अब जे जस्तो भए पनि दर्ता भइसक्यो। हेरौँ के हुन्छ,' उनले भने' बल्ल हिजो(आइतबार) दर्ता भएको छ। प्रहरीले आफ्नो काम त गर्ला नि।'

परिवारका अनुसार सजिलको उपचारका लागि ६० लाख बढी खर्च भइसक्यो। उनको हेरचाहका लागि घरमै २४ सै घण्टा नर्स राखिएको छ। उनको स्वास्थ्यमा सुधार देखिएको छैन।

'हस्पिटलदेखि प्रहरीसम्म उहाँहरूको प्रभाव देखियो। हाम्रो दुख नबुझी आफ्नो बचाउ गर्नमै लागेको देखिन्छ,' उनले भने'दाइले न्याय पाउनुपर्यो,' उनले भने।

ललितपुर जिल्ला प्रहरी परिसरका एसपी नवराज कार्कीले अगाडि नै प्रहरीले जाहेरी लिन नमानेको भन्दा पनि परिवार पक्ष र होटलपक्ष क्षतिपूर्तिमै अल्झिएको दाबी गरे।

'चार महिना त उहाँहरू उपचारमै हुनुहुन्थ्यो। पहिला त जाहेरी नै आएन। प्रहरीले जाहेरी लिन नचाहेको होइन,' उनले भने'हामीले त्यसमाथि क्षतिपूर्तिको मुद्दा हेर्ने पनि होइन।'

जाहेरी ढिला हुनुमा प्रहरीको केही भूमिका नरहेको भन्दै उनले अब अदालतबाट पक्राउ पुर्जी जारी भएमा होटेल सञ्चालकलाई पक्राउ गरेर अनुसन्धान प्रक्रिया अगाडी बढाउने बताए। घटनाबारे प्रतिक्रिया लिन होटेलमा सम्पर्क गर्दा कोही पनि सम्पर्कमा आउन चाहेनन्।

माघ १, २०८० सोमबार २१:५६:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।