निर्देशक प्रदीपले धन्न महाजात्राको प्रमोशनलाई 'गाइजात्रा' बन्नबाट जोगाएछन्
काठमाडौँ : निर्देशक प्रदीप भट्टराइले चैतमा रिलिज डेट तोकेको फिल्म महाजात्राको प्रमोसन गीत सोमबार सार्वजनिक गरे जहाँ फिल्मका कलाकारहरूलाई पनि हल्का ठुम्का हान्न लगाएका छन्।
खुल्लामञ्चमा खिचिएको गीतको कोरियोग्राफी झिल्केमिल्के छ। उनले गीतमा फिल्मकै कलाकारको साटो ब्यवसायीक डान्सर अरुण क्षेत्री र आश्मा विश्वकर्मालाई नचाएका छन्। दुवैको जोडी जमेको छ नै नृत्वकौशलाका कारण गीतको भिडियो पनि हेर्न लायक बनेको छ।
तर गीतको विच्चविच्चमा चुस्सचुस्स कलाकारहरूलाई छिराउने लोभ भने छाड्न सकेनछन् उनले। विपिन कार्की वर्षा राउत, रवीन्द्रसिंह बानिया अनि रवीन्द्र झा छुस्सछुस्स गीतको बिचबिचमा छिरेका छन्।
धन्न हल्का कम्मर मर्काएको दृश्यमै उनले चित्त बुझाए। त्यति परिपक्व नृत्यकारका अगाडि विपिन लगायतालाई उसैगरि कम्मर मर्काउन लगाएर लामो दृश्य राखेको भए भष्मेडनमा विपिनलाई नचाएर जात्रा गराए भन्दा गाइजात्रा हुनसक्ने जोखिम थियो। त्योबाट जोगिए भट्टराई। अनुभवीको कुरै बेग्लै।
चैतमा रिलिज मिति तोकिएको फिल्ममा कलाकारको भने भिड लगाएका छन् उनले। विपिनसहितका तीन कलाकारको नाम त माथि नै आइहाल्यो। उनले आफ्ना गुरु हरिवंश आचार्यलाई पनि छाडेका छैनन्। भूमिका अतिथि नै होला यसमा हरिवंशको।
२०४६ सालको आन्दोलनको विवादपछि एकाएक अभिनयक्षेत्रबाट अलग्गिएका अर्जुनजंग शाहीलाई समेत उनले नेपाली कला क्षेत्रमा भित्र्याएका छन् यही फिल्मबाट।
प्रहरी सेवामा रहेका शाहीले २०४६ को जनआन्दोलनमा दमन गरेको भन्दै उनले अभिनय गरेको फिल्म बहिष्कार भएको थियो। त्यसपछि उनलाई लिएर फिल्म बनाउने हिम्मत कुनै निर्देशकले गरेका थिएनन्। उनले यो पनि हिम्मत गरेका छन् महाजात्रामा।
राजाराम पौडेल,शिशिर वाङदेल, मोहन निरौला, प्रकाश घिमिरे, सुमन कार्की, प्रवीण खतिवडादेखि रमा थपलियासम्म भेला पारेका छन् उनले फिल्ममा।
जात्राको फ्लेवर अनि कलाकारको चयनबाट यो हाँस्यविधाको फिल्म हो भन्ने देखिन्छ नै। जात्रा अनि जात्रैजात्रा सुपर हिट हुन सकेन। तर हिट त भयो। निर्देशकदेखि कलाकारसम्मले झुर फिल्मको व्यापार गराउन गजब छ भनेर झुटो बोल्दा नेपाली दर्शक बिच्किएको बेला हो अहिले। तीनले अझैँ निर्देशक अनि कलाकारहरूले फिल्मबारे भनेको पत्याउन सक्ने वातावरण बनिसकेको छैन। त्यसैले नेपाली फिल्मका शोज्हरु रित्तै छन् हलहरूमा।
समय अझैँ छ महाजात्रासम्मका लागि। तर यो बिचमा यसका निर्देशक अनि कलाकारहरूले पनि बढी नै गफ फ्याके भने महाजात्रालाई हिटको इतिहास दोहोर्याउन पनि मुस्किल नपर्ला भन्न सकिन्न। निर्देशक भट्टराई इमानदार देखिन्छन्। फिल्म प्रचारमा पनि इमानदारै रहुन्। बढी गफ जोतेर भष्मेडन जस्तो विश्वसनीयतामा भष्मै नहुन्।
माघ १, २०८० सोमबार २१:०३:०४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।