४९ वर्षका पूर्णको गुनासो : ढुंगै पच्ने उमेरमा मन लागेको खान पैसा भएन, जब पैसा भयो रोग लागेर खाना पचाउने शरिर भएन
पूर्ण लामा प्रायः काठमाडौंको नरदेवी मन्दिर अगाडि करिब एक किलो मालामा सजिएर बस्ने गर्छन्। २० प्रकारका माला त उनको गलामा सधैं हुन्छन्। हातका दसवटै औँलामा पनि त्यति नै थरीको औँठी लगाउँछन्। यसो हेर्दा उनी आफै एउटा पसल समान देखिन्छन्। प्रायः कालो पोसाकमा हुन्छन् उनी।
दुई व्यक्तिमात्र अटाइने उनको पसल पुरै माला, मुकुट र पत्थरहरूले भरिएको छ। उनी निकै धार्मिक स्वभावका देखिए। आफूलाई शिव भक्त भन्न रुचाउँछन्। उनले मालाको पसल खोल्नुको एउटा कारण शिव भक्ति पनि रहेछ। पहिला शोखले पसल खोले। अहिले त्यही पसल परिवारको खर्च धान्न सहयोगी बनेको छ।
बिहान सबेरै पसल खोल्ने उनी आजकल भने मध्य दिनमा मात्र पसलमा पुग्छन्, त्यो पनि मन लागेको बेला।
'पर्यटक छैनन्। आफ्नै पसल हो। जुन बेला मुड चल्छ त्यही बेला खोल्छु,' उनले सुनाए, 'व्यापार भए पनि ठिकै छ। नभए पनि ठिकै छ। कोठा पनि नजिकै छ। राति चैं दस बजेसम्म पसलतिरै हुन्छु।'
भुकम्प अगाडिसम्म राम्रो थियो रे उनको व्यापार। भुकम्पपछि धरहरा ढले जस्तै ढलेछ उनको व्यापार। उता धरहरा पनि उठ्न सकेको छैन। भूकम्पमा ढलेको उनको व्यापार पनि अहिलेसम्म उठ्न सकेको रैनछ।
३० वर्षको व्यापारमा उनले धेरै बेचेको रुद्राक्षसहितको मालाहरु नै रहेछन्। तर, अहिले भने पत्थरहरूमा पनि ग्राहकको रुचि देखे। ग्राहकले जेम स्टोन, बर्थ स्टोनहरु खोज्न थालेपछि व्यापारलाई विविधीकरण गरेर करिब ६० प्रकारका सामान राख्न थालेका छन्।
अरूको घरमा काम गर्दा..
पूर्ण हेटौडाका स्थानीय हुन्। उनका बा गाडी सम्बन्धी काम गर्थे। आमाले भने सानो खाजाघर चलाइरहेकी थिइन्। पाँच जना दाजुभाइमध्येका पूर्ण अहिले दुर्लभ हुँदै गएको माइलो। तर, उनले जेठो जत्ति नै जिम्मेवारी काँधमा लिनुपर्यो।
कमजोर आर्थिक अवस्थाकै कारण धेरै पढ्न पाएनन्। गाउँमा काठमाडौंका एकजनाले घर बनाएका रहेछन्। उनीहरूको घर रेखदेख गरिदिने काम गरे उनले। त्यहाँको खेतिपाती उनको परिवारले गरिदिन्थे।
साहुको विश्वासिलो पात्र बने उनी। त्यहाँको जग्गा जमिन बेचेर सधैंको लागि काठमाडौं जाने भए पछि उनलाई पनि लैजाने कुरा भयो।
'आफ्नै घर परिवारको सदस्य जस्तै भए पनि मलाई काठमाडौं चैं आउन मन थिएन,' काठमाडौं आउँदाको पल सुनाउँदै उनले भने, 'घुम्न भनेर आएको। केही दिन त रमाइलो पनि लाग्यो। तर, पछि यहाँको हो-हल्ला र भीडभाड देखेर फर्किहालेँ।'
उनी गाउँ फर्केपछि पनि मिल हेर्न उनलाई साहुले काठमाडौं बोलाए। अनि काम गर्नकै लागि काठमाडौं आए अनि यहीको भिडभाड र हो-हल्लामा रमाए।
केही महिनापछि काठमाडौंको मिल बन्द भयो। उनको गाउँका आफन्तहरू विशालबजारको सुन पसलमा काम गर्थे। तिनै मार्फत उनले त्यही काम सुरु गरे। तलब थियो १५ सय ५० रूपैयाँ ।
'सुगर, प्रेसर, थाइराइड छ। त्यतिबेला खानसक्ने शरीर थियो। तर, खान पैसा भएन। अहिले मन लागेको खानसक्ने पैसा छ तर, शरिरका कारण खान भएन,' मधुरो आवाजमा उनले भने।
उनले पाँच वर्ष सुन पसलमा काम गरे। त्यहाँको साहुजी भारतीय थिए। उनीहरूले पूर्णलाई भारत लैजाने प्रस्ताव पनि नगरेको होइन। तर, उनले भारत जान मानेनन्। अनि साथीहरू मार्फत माला पसलमा काम गर्न थाले। त्यहाँ काम गर्दागर्दै आफ्नै पसल राखे। यतै विवाह गरे। परिवार भयो।
'जति गाह्रो भए पनि आफ्नो काममा आनन्द'
'आफ्नो काम गर्न जति गाह्रो छ त्यति नै आनन्द पनि छ। कामको हिसाबले हेर्ने हो भने त अरूको नै सजिलो हुने रहेछ नि। केही जिम्मेवारी धेरै लिइराख्न नपर्ने। खुरूखुरू तलब पनि आउने,' उनी भन्छन्, 'आफ्नो भनेको सबै सम्हाल्नु पर्ने। त्यो अर्कै खालको हुने रहेछ। जति अफ्ट्यारो भयो भने आफ्नो हो भन्ने हुने रहेछ। ग्राहक आएन भने अलि गाह्रो हुन्छ। तर, काम त्यति गाह्रो होइन।'
पशुपति, बौद्ध स्वयम्भू, भक्तपुर, कीर्तिपुर, पाटन लगायतका गाउँ-गाउँमा उनी सामान खोज्न गएको अहिले पनि सम्झिन्छन्। अहिले भने प्रविधिले सबै सहज बनाइसक्यो। एक फोनको भरमा उनको घरमै सामानआइपुग्छ। केही समय उनले हंगकंग र थाइल्याण्डबाट पनि सामान झिकाए। अहिले भने सबै सामान नेपालमै पाइन्छ।
उनले यहीँ नजिकै अर्को पसल पनि खोलेका छन्। जुन उनको श्रीमती चलाउने गर्छिन्।
'खासमा छोरा बुहारीको लागि भनेर पसल दुइ'टा बनाएका थियौँ। उनीहरू अलग्गिएपछि त्यो पसल श्रीमतीले चलाउने गर्छिन्,' उनले भने।
सानो ठाउँ भए पनि पसलको आठ हजार रूपैयाँ भाडा तिर्नुपर्ने रहेछ। तर उनी खुसी नै छन् त्यती भाडामा। ठमेलतिर भए त्मायति ठाउँकै अझ बढि लाग्ने सुनाए उनले।
उनी अहिले ४९ वर्षका भइसके। अबको योजना सके पसल बढाउने, त्यो बाहेक केही नयाँ योजना रहेनछ उनीसँग।
'मलाई त उभिने ठाउँ भए पनि पुग्छ। सामान मज्जाले पुगोस्। व्यापार राम्रो होस्। परिवार खुसी होस्। कसैलाई दुई पैसा माग्न नपरोस्,' उनी हाँस्दै भन्छन्, 'मिहिनेत गरिरहन सकियोस्। अरू के चाहियो र! सबै कुरा पैसा र समयले नै गर्ने रहेछ। हेर्दै जाउ के हुन्छ।'
छ हजारमा पसल सुरू गरेका उनले गाउँमा घर बनाइसके। त्यसैलाई उनले ठूलो उपलब्धि मानेका छन्। उनको छोरा अहिले स्नातकोत्तर गर्दै रहेछन्। छोरालाई विदेश पठाउने चाहना रहेछ।
'म जस्तो न पढेको न लेखेको मान्छेले यस्तो अन्जान शहरमा आएर यत्ति गर्न सके अरू के चाहियो र ?' उनले मुस्कुराउँदै भने।
माघ १, २०८० सोमबार २०:०१:५७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।