पिएम कप एकदिवसीय क्रिकेटमा आर्मीको कप्तान विनोद चम्कँदा मधेस प्रदेश पराजित

पिएम कप एकदिवसीय क्रिकेटमा आर्मीको कप्तान विनोद चम्कँदा मधेस प्रदेश पराजित

काठमाडौँ : प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा विभागीय टोली त्रिभुवन आर्मी क्लबले मधेस प्रदेशलाई १२६ रनले पराजित गर्यो।

सोमबार टियू क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा पहिला ब्याटिङ गरेको आर्मीले निर्धारित ओभरमा सबै विकेट गुमाएर तीन सय २० रन बनाएको थियो।

आर्मीका लागि कप्तान विनोद भण्डारीले ९३ बलमा छ छक्का र ९ चौकासहित एक सय १३ रन बनाएका थिए। सन्तोष कार्कीले ४२ रन र कुशल मल्ल र विवेक यादवले ३७-३७ रन बनाएका थिए।

मधेस प्रदेशका लागि रञ्जित कुमारले ५ विकेट लिएका थिए भने विशाल पटेलले २ विकेट लिए। रुपेश सिंह र राजेश यादवले एक-एक विकेट लिएका थिए ।

जवाफी ब्याटिङमा उत्रिएको मधेस प्रदेशले लक्ष्य पुरा गर्न सकेन। मधेस प्रदेशको टिम ४८.४ ओभरमा सबै विकेट गुमाएर १ सय ९४ रनमै समेटियो।

मधेस प्रदेशका लागि पवन शर्राफले सर्वाधिक ६५ रन बनाएका थिए। मयन यादवले ३४, रञ्जित यादवले ३२ र रुपेश सिंह १८ रन बनाएका थिए।

आर्मीका सहाव आलमले सर्वाधिक ४ विकेट लिएका थिए। सोमपाल कामीले २ विकेट र जितेन्द्र मुखिया र कुशल मल्लले एक-एक विकेट लिएका थिए।

प्रतियोगितामा सोमबार आर्मीको पहिलो खेल र पहिलो जित हो। पहिलो खेलमा कोशीलाई हराएको मधेस प्रदेश दोस्रो खेलमा भने हार्न पुग्यो।

माघ १, २०८० सोमबार १८:०९:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।