सर्वोच्च अदालतको आदेश लत्त्याउँदै माघी महोत्सवमा रक्सीको प्रचार, प्रधानमन्त्री साक्षी

सर्वोच्च अदालतको आदेश लत्त्याउँदै माघी महोत्सवमा रक्सीको प्रचार, प्रधानमन्त्री साक्षी

काठमाडौं : मादक पदार्थको विज्ञापन सामग्री प्रकाशन/प्रसारणबारे सर्वोच्चमा परेको रिटमा आदेश दिँदै सर्वोच्च अदालतले भनेको थियो- ‘कुनै पनि सञ्चार माध्यममा यस्तो प्रचार सामग्रीको प्रचार प्रसार नगर्नु नगराउनु, गर्न नदिनु।’

आदेशको कार्यान्वयनका लागि अदालतले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिवको संयोजकत्वमा अन्य सरोकारवाला निकायहरूको प्रतिनिधित्व रहने गरी मादक पदार्थको विज्ञापन सामग्री उत्पादन, वितरण, तथा प्रचारप्रसार निषेध सम्बन्धी कानुनी व्यवस्थाको कार्यान्वयन अनुगमन समिति गठन गर्न समेत भनेको थियो।

सोमबार काठमाडौंको टुँडिखेलमै सर्वोच्चको आदेशको उलङ्घन गर्दै आयोजकले मुख्य मञ्चमै गोर्खा बियर र गोल्डेन वक रक्सीको प्रचार गर्यो। त्यही कार्यक्रमको प्रमुख अतिथि भएर प्रधानमन्त्री सर्वोच्चको आदेशको अवज्ञाको साक्षी बसे।

उपभोक्ता हित संरक्षण मञ्चले विज्ञापन बोर्डलाई प्रतिवादी बनाउँदै प्रचलित कानुन विपरीत मादक पदार्थको विज्ञापन सामग्रीको उत्पादन, वितरण तथा प्रचार प्रसारमा नियमन, नियन्त्रण एवं कारबाही गर्न बेवास्ता गरेकाले त्यसमा रोक लगाउन माग गर्दै सर्वोच्चमा रिट दायर गरेको थियो।

अदालतले जनस्वास्थ्य ऐन २०७५ को दफा ४५ को उपदफा (१) मा रहेको मदिरा, चुरोट, सुर्ती तथा सुर्तीजन्य पदार्थ लगायतका मानव स्वास्थ्यलाई प्रतिकुल असर गर्ने कुनै पनि विज्ञापन सामग्रीको उत्पादन, वितरण तथा प्रचार-प्रसार गर्न पाइने छैन भन्ने प्रावधान अनुसार विज्ञापन निर्माण र प्रचार प्रसारमा रोक लगाउन अन्तरिम आदेश दिएको थियो।

अदालतको आदेशपछि सञ्चारमाध्यमहरूमा मदिराको विज्ञापन रोकियो। तर, पछिल्लो समय मदिरा उत्पादकहरूले सामाजिक सञ्जाल अनि सार्वजनिक कार्यक्रममार्फत चलाखीका साथ प्रचार प्रसार गरिरहेका छन्।

केही साता अगाडि केही अधिकारी लगायतका कलाकारहरू नै इन्ट्राग्राममार्फत मदिराको प्रचारdमा संलग्न देखिएका थिए।

माघ १, २०८० सोमबार १७:५४:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।