रेखाको ‘उपहार’ का दुई गीतपछि चार फर्स्टलुक पनि सार्वजनिक
काठमाडौं : रेखा थापाले निर्माण गरेको फिल्म ‘उपहार’ले आफ्नो प्रचारप्रसार व्यापाक गरिरहेको छ।
यो फिल्मका अहिलेसम्म दुई गीत ‘वाह वाह वाह’ र ‘मुटुको चार आना’ सार्वजनिक भइसकेका छन्। तर, पहिलो र दोस्रो गीतले नै दर्शक माझ सोचे अनुसारको लोकप्रियता कमाउन सकेको छैन।
सोचे अनुसारको चर्चा पाउन नसकेपछि निर्माण टिमले आज फिल्मको चार वटा फर्स्टलुक पोस्टर सार्वजनिक गरेको छ। निर्माण टिमले चर्चा कमाउनकै लागि फिल्मका प्रमुख कलाकारलाई माघे सङ्क्रान्तिको अवसर पारेर चार वटा फर्स्टलुक पोस्टर सार्वजनिक गर्यो।
फिल्मको एक फर्स्टलुक पोस्टरमा अभिनेत्री रेखा थापा, पुजा शर्मा, बेनिशा हमाल र मुकुन भुषाललाई स्थान दिइएको छ। फिल्मको पोस्टरमा कुनै नयाँपन छैन। चिया घरलाई पृष्ठभूमिमा राखेर बनाइएको फर्स्टलुक पोस्टरमा रेखालाई थर्मस र चियाको ग्लास बोकेको देखिन्छ भने अभिनेता मुकुन भुषाल ह्वीलचेयरमा बसेका छन्।
यता, दोस्रो पोस्टरमा भने अभिनेता तेज गिरी र अभिनेत्री बेनिशालाई बेहुलाबेहुली लुक्समा प्रस्तुत गरिएको छ। जहाँ मुकुन र रेखा तथा समर्पण जंग कार्की र पुजा शर्मालाई पनि अटाउन खोजिएको छ।
तेस्रो फर्स्टलुक भनिएको पोस्टरमा मुकुन भुषाल, रेखा थापा, पुजा शर्मा र बेनिशा हमाललाई खुशी भावमा देखाइएको छ।
चौथो फर्स्टलुक पोस्टरमा पनि मुकुनलाई ह्वीलचेयरमा देखाइँदा रेखालाई कालो चस्मामा प्रस्तुत गरिएको छ।
फिल्ममा मुकुन, रेखा, पूजा, बेनिशाका अलावा निर्मल शर्मा, शिशिर राणा, राजाराम पौडेल, किरण केसी फिचर्ड छन्।
ज्ञानेन्द्र देउजाको निर्देशन रहेको फिल्ममा रेखा थापा प्रस्तुतकर्ता रहेकी छन्। रेखा फिल्मस् र कपनगढी सिनेमा प्रालिको ब्यानरमा निर्माण गरिएको फिल्ममा सुलभ प्रतिक देउजा र समीक्षा देउजा निर्माता छन्।
फिल्मको कार्यकारी निर्मातामा रेखा थापाकै श्रीमान बलराम शाही ठकुरी हुन्।
फिल्ममा विष्णु कल्पित घिमिरेको छायांकन, अर्जुन पोखरेल र बाबुल गिरीको संगीत, प्रमोद ढुंगाना, शंकर अधिकारी ‘घायल’ र मुक्त उदासको गीत तथा मित्र डि गुरुङको सम्पादन रहेको फिल्ममा सुलक्षण भारतीको कथा छ।
फिल्ममा अभिमन्यु निरवी र माधव शर्माको पटकथा तथा संवाद, अनुपम गौतमको भीएफएक्स र रोशन श्रेष्ठको द्वन्द्व रहेको छ। फिल्मलाई रिच इन्टरटेनमेन्ट र एफडी कम्पनीले वितरण गर्दैछन्।
माघ १, २०८० सोमबार १७:४३:५७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।