प्रधानमन्त्री कप पुरुष क्रिकेट : सुदूरपश्चिम प्रदेशले लुम्बिनीलाई पाँच विकेटले हरायो
काठमाडौं : प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत सुदूरपश्चिम प्रदेशले लुम्बिनी प्रदेशलाई पाँच विकेटले पराजित गरेको छ।
आज सिद्धार्थनगर रंगशालामा टस हारी पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनी प्रदेशले ४८.४ ओभरमा अलआउट हुनुअघि एक सय ५८ रनमात्र बनाउन सकेको थियो। जवाफी ब्याटिङमा ओर्लिएको सुदूरपश्चिमले भने २९.३ ओभरमै केवल पाँच विकेट गुमाएर विजय लक्ष्य पुरा गर्यो।
सुदूरपश्चिम प्रदेशका लागि पाँचौँ नम्बरका ब्याट्सम्यान शेर मल्लले अविजित ४२ रनको योगदान गरेका थिए। उनले ४४ बलको सामना गरी दुई छक्का र चार चौका पनि हिर्काए।
नारायण जोशीले पनि टोलीका लागि अविजित २८ रनको योगदान गरे। उनले ३० बलमा चार चौका प्रहार गरेका हुन्। ओपनर ब्याट्सम्यान खड्क बोहराले २१ रन बनाएका थिए।
अर्का ओपनर टेक रावत १८ रन बनाउँदै पेभेलियन फर्किएका थिए। नरेन भट्टले पनि टोलीको खातामा १२ रन थपे। कप्तान राजु रिजाल भने खाता खोल्नुअघि नै पेभेलियन फर्किए। किरण ठगुन्नाले १६ रन बनाए।
सुदूरपश्चिम प्रदेशले अतिरिक्त रुपमा २२ रन पाएको थियो। लुम्बिनी प्रदेशका बलर अभिषेक गौतमले तीन विकेट लिए। अजय चौहान र कृष्ण कार्कीले पनि एक–एक विकेट लिए।
त्यसअघि लुम्बिनी प्रदेशका लागि ब्याट्सम्यान प्रज्ज्वल थापाले ४२ रनको योगदान गरेका थिए। उनले ६८ बलको सामना गरी चार चौका पनि हिर्काए।
मोहम्मद हुसैनले पनि २६ रन बनाए। ओपनर विराट भण्डारीले टोलीको खातामा २३ रन थपे। अर्का ओपनर सम्राट भुसाल भने नौ रनमै पेभेलियन फर्किए। मृनाल गुरुङले १४ रन जोडे। कृष्ण कार्की १२ रनमा अविजित रहे।
दिल्साद अलीले १० रन बनाए। लुम्बिनी प्रदेशले अतिरिक्त रुपमा पनि १८ रन पाएको थियो। सुदूरपश्चिम प्रदेशका बलर नारायण जोशीले तीन विकेट लिए। भोजराज भट्ट र नरेन साउदले पनि दुई–दुई विकेट लिए। मिलन बोहराले एक विकेट लिए।
आज सुदूरपश्चिम प्रदेशले आफ्नो पहिलो खेलमै जित हात पारेको हो। दोस्रो खेल खेलेको लुम्बिनी प्रदेशको भने यो पहिलो हार हो। यसअघि लुम्बिनी प्रदेशले आफ्नो पहिलो खेलमा गण्डकी प्रदेशलाई चार विकेटले हराएको थियो।
माघ १, २०८० सोमबार १५:५५:४४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।