प्रधानमन्त्री कप : मधेशलाई आर्मीको ३२१ रनको विशाल लक्ष्य, लुम्बिनीले १५८ बनाउँदा कोशी १३६ मा अलआउट

प्रधानमन्त्री कप : मधेशलाई आर्मीको ३२१ रनको विशाल लक्ष्य, लुम्बिनीले १५८ बनाउँदा कोशी १३६ मा अलआउट

काठमाडौं : प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा सोमबार भएको खेलमा नेपाल आर्मी क्लबले मधेश प्रदेशलाई ३२१ रनको विशाल लक्ष्य दिएको छ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङमा तानिएको आर्मीले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर ३२० रन बनाएको हो।

उसका लागि कप्तान विनोद भण्डारीले ९३ बलमा ९ चौका र ६ छक्कासहित ११३ रनको शतकीय पारी खेले।

सन्तोष कार्की ४२, विवेक यादव र कुशल मल्ल समान ३७-३७, इमरान शेख २६, भीम सार्की १८, बसीर अहमद १६ रनमा आउट हुँदा अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्।

मधेशका रञ्जीत कुमार एक्लैले पाँच विकेट लिँदा विशाल पटेल दुई तथा राजेश यादव र रुपेश सिंहले समान एक-एक विकेट लिए।

उता सिद्धार्थ क्रिकेट रंगशालामा भएको अर्को खेलमा टस हारेर पहिला ब्याटिङमा तानिएको लुम्बिनी प्रदेश ४८.४ ओभरमा सबै विकेट गुमाएर १५८ रनमा आउट भएर सुदूरपश्चिमलाई १५९ रनको लक्ष्य दियो।

लुम्बिनीका लागि प्रज्वल थापाले ४२, मोहम्मद हुसेनले २६, विराट भण्डारीले २३ रन बनाउँदा अन्य खेलाडीले सम्झनलायक प्रदर्शन गर्न सकेनन्।

बलिङमा सुदूरपश्चिमका नारायण जोशीले तीन, भोजराज भट्ट र नरेन साउदले समान दुई-दुई विकेट बनाउँदा मिलन बोहराले एक विकेट लिए।

मुलपानी क्रिकेट मैदानमा भएको अर्को खेलमा टस हारेर पहिला ब्याटिङमा तानिएको कोशी प्रदेशले ४४.३ ओभरमा सबै विकेट गुमाएर १३५ रन बनाएर एपीएफलाई १३६ रनको लक्ष्य दियो।

कोशीका लागि फिरदोष अन्सारीले सर्वाधिक ५५ रनको अर्धशतकीय पारी खेल्दा सोनी अन्सारीले २० रन बनाए। अन्य खेलाडीले खासै राम्रो प्रदर्शन गर्न सकेनन्।

एपीएफका अबिनाश बोहरा र कप्तान रोहित पौडेलले समान तीन-तीन विकेट लिँदा अमर रौटेलाले दुई तथा भुवन कार्की र मौसम ढकालले समान एक-एक विकेट लिए।

माघ १, २०८० सोमबार १२:५७:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।