चौबिसै घण्टा पानी वितरणको व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन

चौबिसै घण्टा पानी वितरणको व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही वर्षभित्र चौबिसै घण्टा उपभोक्ताको धारामा पानी वितरणको व्यवस्था मिलाउन निर्देशन दिएका छन्।

सोमबार मेलम्ची खानेपानी पुनः वितरण शुभारम्भ कार्यक्रममा प्रधानमन्त्री दाहालले यस्तो निर्देशन दिएका हुन्।

उनले सम्बोधनमा भने, ‘केही वर्षभित्रमा अर्को चरणमा काठमाडौं उपत्यकाभित्र खानेपानी वितरणको कार्य नयाँ वितरण सञ्जालमार्फत समानुपातिक, सुरक्षित तथा तोकिएको परिमाणको खानेपानी सेवा २४ सै घण्टा उपभोक्ता सदस्यहरूको धारामा वितरण गरिने व्यवस्था मिलाउनका लागि सम्बन्धित निकायलाई निर्देशितसमेत गर्दछु।’

यस्तै उनले मेलम्चीको पानी बाह्रै महिना काठमाडौंमा ल्याउने गरी काम गर्नसमेत निर्देशन दिए।

उनले थपे, ‘दीर्घकालिन समस्या समाधानका लागि विस्तृत अध्ययन तथा ठोस कार्ययोजना बनाई आयोजनाको पुनर्निर्माणको कार्य कार्यान्वयन गरिनेछ। आयोजनाअन्तर्गत हाल प्रयोग हुँदै आएको बैकल्पिक प्रणालीलाई पनि बाह्रै महिना सञ्चालन गर्ने गरी व्यवस्था मिलाउन सम्बन्धित पदाधिकारीलाई मैले निर्देशनसमेत दिएको छु।’

काठमाडौं उपत्यकाको बढ्दो जनसंख्यालाई सुरक्षित तथा दिगो खानेपानी सेवा उपलब्ध गराउन नेपाल सरकार प्रयासरत रहेको बताए।

यस्तै उनले हाल मेलम्ची खानेपानी आयोजनाको हेडवक्सको निर्माणको कार्य यथाशीघ्र सम्पन्न गरी दोस्रो चरणको याङग्री तथा लार्के नदी डाईभर्सनको कार्यसमेत निश्चित कार्ययोजना बनाई अगाडि बढाइने प्रतिबद्धता समेत जनाए।

माघ १, २०८० सोमबार १०:३५:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।