जिम्बावेविरुद्धको पहिलो टी२० आईमा श्रीलंकाको जित
एजेन्सी : घरेलु टोली श्रीलंकाले पहिलो टि२० आई खेलमा जिम्बावेमाथि तीन विकेटको जित हात पारेको छ।
योसँगै तीन खेलको सिरिजमा श्रीलंकाले १-० को अग्रता लिएको छ।
जितको लागि १ सय ४३ रनको मध्यम विजयी लक्ष्य श्रीलंकाले २० ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्यो।
जिम्बावेलाई जितको लागि अन्तिम ६ बलमा १४ रन चाहिँदा अनुभवी ब्याटर एन्जिलो म्याथ्युजले सुरुवाती दुुई बलमा लगातार चौका प्रहार गरेका थिए।
तेस्रो बल ब्लेसिङ मुर्जाबानीले डट र चौथो बलमा म्याथ्युजलाई क्याच गराएपछि खेल थप रोचक बनेको थियो।
त्यसपछि दुश्मन्था चामिराले चौका र दुई रन बटुल्दै रोमान्चक जित दिलाए। दासुन शानका १८ बलमा ४ चौकासहित २६ रनमा नट आउट रहे।
श्रीलंकाका अनुभवी ब्याटर एन्जिलो म्याथ्युजले ३८ बलमा ५ चौका र १ छक्कासहित सर्वाधिक ४६ रन बनाए।
एक समय ८३–६ को अवस्थामा पुगेको श्रीलंकालाई शानका र म्याथ्युजले सातौं विकेटका लागि ३४ बलमा ५५ रनको महत्वपूर्ण साझेदारी गरेका थिए।
श्रीलंकाका पाथुम निसंका २, कुशल मेन्डिस र कुशल परेरा १७–१७ रनमा आउट भए।
जिम्बावेका सिकन्दर राजाले ४ ओभरमा १३ रन खर्चेर ३ विकेट लिए। राजाले ब्याटिङमा पनि ६२ रन बनाउँदै सानदार अलराउन्ड प्रदर्शन गरेपनि जिताउन सकेनन्।
त्यसअघि कोलोम्बोमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको जिम्बावेले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ४३ रन बनाएको थियो।
जिम्बावेका सिकन्दर राजाले ४२ बलमा ५ चौका र २ छक्कासहित सर्वाधिक ६२ रनको योगदान दिए। अन्य ब्याटरले भने खासै राम्रो प्रदर्शन गर्न सकेनन्।
क्रेग इर्भिन १०, सेन विलियम्स १४ र तिनाश कमुनहुकम्वे २६ रनमा आउट भए। श्रीलंकाका महेश थिक्सेनाले ४ ओभरमा १६ रन खर्चेर २ विकेट लिए।
वानिन्दु हसरंगाले ४ ओभरमा १९ रन खर्चेर २ विकेट लिए । दुश्मन्था चामिराले १ विकेट लिए।
यी दुई देशबीचको दोस्रो टी-२० आई मंगलबार सवा ७ बजे हुनेछ।
माघ १, २०८० सोमबार ०९:३७:०५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।