एक खेलअगावै अफगानिस्तानविरुद्धको टी-२० सिरिजको उपाधि भारतलाई

एक खेलअगावै अफगानिस्तानविरुद्धको टी-२० सिरिजको उपाधि भारतलाई

काठमाडौं : अफगानिस्तानविरुद्धको टी-२० सिरिज एक खेल अगावै भारतले जितेको छ।

आइतबार राति भएको खेलमा भारतले ६ विकेटको जित निकाल्दै सिरिजमा २-० को अग्रता लिएको हो।

भारतीय कप्तान रोहित शर्माले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेका थिए।पहिले ब्याटिङ गर्दै अफगानिस्तानले भारतलाई १ सय ७३ रनको लक्ष्य दिएको थियो।

उक्त लक्ष्य भारतका यशस्वी जैसवाल र शिवम दुबेको तुफानी पारिको मद्दतले १६औँ ओभरमा पूरा गरेको थियो।

अफगानिस्तानका ओपनरहरूले राम्रो सुरुवात दिने प्रयास गरे पनि २० रनको टिमको स्कोरमा रहमानउल्लाह गुरबाज रवि बिश्नोईको शिकार बने। गुरबाजले १४ रन बनाए।

यसपछि कप्तान इब्राहिम जद्रानले पनि ८ रनको स्कोरमा आफ्नो विकेट गुमाए। अजमातुल्लाह ओमरजाई पनि खासै प्रभावशाली देखिएनन् र २ रन बनाएर शिवम दुबेको शिकार बने।

एक छेउमा गुलबदिन नाइबले उत्कृष्ट अर्धशतक बनाए तर उनी पनि ५७ रनको उत्कृष्ट इनिङ्स खेलेर आउट भए। नाइबले आफ्नो पारीमा ५ चौका र ४ छक्का प्रहार गरे।

भारतका लागि अर्शदीप सिंहले ३ तथा अक्षर पटेलले २ विकेट लिए।

अफगानिस्तानले दिएको १७३ रनको जवाफमा भारतको सुरुवात खराब रह्यो। कप्तान रोहित शर्मा पहिलो बलमै क्लिन बोल्ड भए।

तर यसपछि विराट कोहली र यशस्वी जैसवालले ५७ रनको साझेदारी गरे। विराट कोहलीले १६ बलमा ५ चौकाको मद्दतले २९ रन बनाए।

जैसवालले तेस्रो विकेटका लागि शिवम दुबेसँग आँधीबेहरी साझेदारी गरे। उनीहरूले ४२ बलमा ९२ रन जोडे।

यशस्वी जैसवालले ३४ बलमा ५ चौका र ६ छक्का प्रहार गर्दै ६८ रन बनाए भने शिवम दुबेले ३२ बलमा ५ चौका र ४ छक्का सहित अविजित ६३ रन बनाए।

अफगानिस्तानका करिम जनतले २ विकेट लिए।

भारत र अफगानिस्तानबिचको अन्तिम खेल जनवरी १७ मा बैंगलोरमा हुनेछ।

माघ १, २०८० सोमबार ०७:२९:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।