४ वटा फिल्म साइन गरेपछि बल्ल जुर्यो नीतिलाई ‘खजुरे ब्रो’

४ वटा फिल्म साइन गरेपछि बल्ल जुर्यो नीतिलाई ‘खजुरे ब्रो’

काठमाडौं : नेपालका अधिकांश मोडलले नेपाली फिल्ममा डेब्यु गरे। कति फिल्म घोषणामा सीमित भए त कति चले पनि।

यही बीचमा मोडल नीति शाह अनुबन्ध भएका ४ वटा फिल्म बन्ने घोषणा भए। उनले खेल्ने भनेको फिल्म ‘हुतुतु’मा उनको जोडी प्रदीप खड्कालाई अनुबन्ध गरियो। तर, अन्तमा फिल्म नै बनेन।

फिल्म ‘हुतुतु’ निर्माण नभएपछि उनले अनमोलसँगको फिल्म ‘एक्स नाइन’ साइन गरिन्। यो फिल्मको घोषणा भएको लामो समय भइसक्दा पनि निर्माण हुन सकेन।

एकपछि अर्को फिल्ममा साइन गरेकी नीतिले फेरि प्रदीप खड्कासँगको ‘क्यामिनो’ साइन गरिन्। उनको यो फिल्म पनि बन्ने छाँटकाँट नै देखिएन। 

फिल्ममा साइन मात्र गरेर हत्तु हुँदै बसेकी नीति अन्ततः अभिनय सिक्नकै लागि भारततिर लागिन्।

यसै क्रममा पछिल्लो पटक नीतिले अर्को फिल्म ‘रावायण’मा साइन् गरिन्। यो फिल्म पनि अहिले निर्माता र अभिनेता अनमोल केसीबीचको विवादले अन्योलमै छ।

एकपछि अर्को फिल्ममा उनी अनुबन्धित हुनासाथ नबन्ने भएपछि यतिबेला फिल्म ‘खजुरे ब्रो’मा भने अनुबन्धको कुरै नगरी धमाधम छायांकन थालिएको छ। उनलाई लिएर निर्देशक सुरज सुनुवारले काठमाडौंका विभिन्न स्थानमा २७ गतेबाट फिल्म खिचिरहेका छन्।

अघिल्ला फिल्ममा निर्माण हुनु भन्दा केहि दिन अघि नै फिल्मको मुर्हत गर्ने चलनलाई यस पटक भने सुटिङको तीन दिनपछि मात्रे शुभमुर्हत गर्दैछन्। निर्माण टिमले भोलि माघे सङ्क्रान्तिको अवसर पारेर काठमाडौंको धुम्बाराहीमा फिल्मको शुभ साइत गर्दैछ।

फिल्ममा नीतिको साथमा रेयर राई, महेश त्रिपाठी, नवीन मानन्धरले अभिनय गरिरहेका छन्। रेयर राईले यस अघि फिल्म ‘गोर्खा वारियार’मा काम गरेका थिए। जुन फिल्म प्रदर्शनको तयारीमा रहेको छ। फिल्ममा

नवीन मानन्धर र सुरज सुनुवारको लगानी छ।

पुष २९, २०८० आइतबार १५:३३:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।