माघमा १८ बैंकको ब्याजदर घट्यो, दुइटाको यथावत्

माघमा १८ बैंकको ब्याजदर घट्यो, दुइटाको यथावत्

काठमाडौँ : माघ महिनाका लागि १८ वटा वाणिज्य बैंकहरुले ब्याजदर घटाएका छन्। दुई वटा बैंकले भने ब्याजदर यथावत् राखेको छ। 

पुसमा बैंकहरूको औसत ब्याजदर व्यक्तिगततर्फ ८.९९ थियो भने माघका लागि ८.१६ प्रतिशत निर्धारण भएको छ। संस्थागततर्फ पुसमा ६.८८ प्रतिशत रहेकोमा घटेर ६.१२ कायम भएको छ। पुसको तुलनामा माघमा व्यक्तिगत मुद्दती निक्षेपतर्फ औसतमा ०.८२ प्रतिशत र संस्थागत मुद्दतीमा औसतमा ०.७६ प्रतिशतले ब्याजदर घटेको छ।

पुसको तुलनामा नेपाल एसबीआई बैंकले १.३५ प्रतिशत ब्याजदर घटाएको छ। पुसमा व्यक्तिगततर्फ ९.६ प्रतिशत थियो भने माघमा घटाएर ८.६ प्रतिशतमा झारेको छ। संस्थागततर्फ पुसमा ७.६ प्रतिशत रहेकोमा माघमा घटाएर ६.२५ प्रतिशत कायम गरेको छ। 

प्राइम कमर्सियल बैंकले १.९ प्रतिशत ब्याजदर घटाएको छ। कृषि विकास बैंकले १.२५ घटाएर माघका लागि व्यक्तिगततर्फ ७.२६ प्रतिशत र संस्थागततर्फ ५.७६ प्रतिशत ब्याजदर कायम गरेको छ। 

लक्ष्मी सनराइजको १, माछापुच्छ्रे १.६, सिद्धार्थको १.१५ र कुमारी बैंकको १.२ प्रतिशत ब्याजदर घटाएको छ। नेपाल बैंकले व्यक्तिगततर्फ ८ प्रतिशत र संस्थागततर्फ ६ प्रतिशत ब्याजदर कायम गरेको छ। एभरेस्ट बैंकले व्यक्तिगततर्फ ८ र संस्थागततर्फ ६ प्रतिशत, लक्ष्मी सनराइज बैंकले व्यक्तिगततर्फ ८ र संस्थागततर्फ ६ प्रतिशत, प्रभु बैंकले व्यक्तिगततर्फ ८.०६५ र संस्थागततर्फ ६.०६५ प्रतिशत र एनआइसी एसियाले व्यक्तिगततर्फ ८.०६५ र संस्थागततर्फ ६.०६५ प्रतिशत ब्याजदर कायम गरेका छन्।

राष्ट्रिय वाणिज्य बैंकले व्यक्तिगत तर्फ ८.०७ र संस्थागतर्फ ६.०७ प्रतिशत, स्ट्याण्डडर्ड चाटर्ड बैंकले व्यक्तिगत ८.०७ र संस्थागततर्फ ५.२५ प्रतिशत ब्याजदर कायम गरेका छन्। प्राइम कमर्सियल बैंक, नबिल बैंक, सिद्धार्थ बैंक र ग्लोबल आइएमई बैंकले समान व्यक्तिगततर्फ ८.१ र संस्थागततर्फ ६.१ प्रतिशत ब्याजदर कायम गरेका छन्।

पुष २९, २०८० आइतबार १४:३७:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।