सन्दीप जोरा टिक्दा एपीएफले बनायो सम्मानजनक स्कोर, बागमतीलाई दुई सय ४२ रनको चुनौती
काठमाडौँ : प्रधानमन्त्री कप एक दिवसीय क्रिकेटमा विभागीय क्लब एपीएफले बागमती प्रदेशलाई प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ। टस हारेर पहिला ब्याटिङ गरेको एपीएफले सन्दीप जोराको शतकको सहायतामा निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ४१ रन बनाएको छ।
पहिलो खेलमा एपीएफका प्रज्वल शाही र आशिफ शेखले ओपनिङ गरेका थिए। उनीहरूले १८ रन मात्र बनाए। कप्तान रोहित पौडेलले २ रन बनाएर आउट भए। ओपनर आशिफ व्यक्तिगत १५ रन बनाएर आउट भए।
सुमित महर्जन १८ बलमा ६ रन बनाएर आउट भए। पूर्ण बम शून्य रनमा आउट भएका थिए। एपिएफको स्कोर धर्मराइसकेको अवस्थामा सन्दीप जोरा र लोकेश बम मिलेर एपीएफको स्कोर उकासे। एपिएफ १ सय ७ रनमा भएको बेलामा बम ४२ बलमा २७ रन बनाएर आउट भए। भुवन कार्की १० रनमा आउट भए। जोरा भने क्रिजमा टिकिरहेका थिए। अमरसिंह रौटेला र जोराले गतिलो गर्दै टिमको स्कोर दुई सय नजिक पुर्याएका थिए। रौटेल पनि ४६ बलमा २२ रन बनाएर आउट भए।
अभिनाश बोहोराले १७ बलमा १८ रनको नटआउट पारि खेले। नवौँ विकेटको जोरा आउट हुँदा उनले शतक हानिसकेका थिए। उनी १ सय १२ रन बनाएर रन आउट भएका थिए। जोराले एक सय १२ रन बनाउन १ सय १७ बल फेस गर्दै ५ छक्का र ७ चौका प्रहार गरेका थिए। एपीएफले निर्धारित ओभरमा ९ विकेट गुमाएर २ सय ४१ रन बनायो।
बागमतीका सूर्य तामाङले ३ विकेट लिए। प्रतिश जिसी र रिजन ढकालले दुई-दुई विकेट लिएका थिए। सोनु देवकोटाले एक विकेट लिएका थिए।
पुष २९, २०८० आइतबार १४:२३:०५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।