आलमको मुद्दा आज पनि स्थगित

आलमको मुद्दा आज पनि स्थगित

काठमाडौं : गोला टिप्न पर्याप्त न्यायाधीश नभएपछि पूर्वमन्त्री मोहम्मद अफताव आलमविरुद्धको मुद्दा स्थगित सूचीमा परेको छ।

सात न्यायाधीश भएको रौटहट जिल्ला अदालतमा आज दुई न्यायाधीश मात्र उपस्थित थिए। आलमको मुद्दा रहेको फाँट नम्बर ५ को गोला कुनै पनि न्यायाधीशले नटिपेपछि आलमको मुद्दा स्थगित सूचीमा परेको श्रेस्तेदार उद्धव ढोडारीले जानकारी दिए।

सात न्यायाधीश भएको रौतहटमा ‘क’ नम्बर न्यायाधीश मातृकाप्रसाद मरासैनी उच्च अदालतको न्यायाधीशमा सिफारिस भइसकेका छन्। अन्य दुई न्यायाधीशको सरुवा भएको छ भने थप दुई जना विदामा थिए।

आज पेसीमा गोला टिप्ने न्यायाधीशहरू तेजबहादुर खड्का र गेहेन्द्रराज पन्त मात्र बाँकी थिए। उनीहरूले फाँट नम्बर ५ को गोला नटिपेपछि न्यायाधीश अभावले आलमको मुद्दाको अन्तिम सुनुवाइ अनिश्चित भएको हो।

श्रेस्तेदार ढोडारीले आज अन्तिम सुनुवाइका लागि पेसी तोकिएको आलमको मुद्दा आज स्थगित भए पनि अर्को महिनाभित्रै पेसी चढ्ने र अन्तिम सुनुवाइ हुने जानकारी दिए।

पहिलो संविधानसभाको चुनावको एक दिनअघि रौतहटको राजपुरमा २०६४ चैत २७ गते भएको बम विस्फोटका घटनामा संलग्न रहेको भन्दै प्रहरीले आलमविरुद्ध पक्राउ गरेको थियो।

इँटाभट्टामा जिउँदै मानिस जलाएको घटनाका आरोपी आलमसँगै शेख सेराज भन्ने शेख सराज, शेख फजलेहक, शेख भदई, मोहम्मद महताव आलम, सगिर आलम, बद्री सहनी, गौरीशंकर साह, मुक्ति साह, मोहद मोबिन आलम र शेख जुमइन भन्ने शेख मलकारविरुद्ध मुद्दा चलाएको थियो।

उक्त मुद्दा २०७६ साल कात्तिक १८ गते दर्ता भएको हो।

पुष २९, २०८० आइतबार १३:१४:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।