राष्ट्रियसभा निर्वाचनका उमेदवारले ३ लाख ५० हजारसम्म मात्र खर्च गर्न पाउने

राष्ट्रियसभा निर्वाचनका उमेदवारले ३ लाख ५० हजारसम्म मात्र खर्च गर्न पाउने

काठमाडौं : आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि उमेदवारले गर्न पाउने खर्चको हद तोकिएको छ।

निर्वाचन आयोगले निर्वाचनका लागि उमेदवारले राष्ट्रियसभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ६५ तथा राष्ट्रियसभा सदस्य निर्वाचन नियमावली, २०७६ को नियम ४६ (१) सँग सम्बन्धित अनुसूची–१ अनुसार खर्च गर्न पाउने छन्।

उमेदवारले ३ लाख ५० हजार रूपैयाँसम्म खर्च गर्न पाउने आयोगले जनाएको छ।

उक्त खर्च मतदाता नामावली खरिद, सवारी साधन, सवारी साधनको इन्धन, प्रचारप्रसार सामग्री, ढुवानी, गोष्ठी, अन्तरक्रिया, कार्यालय सञ्चालन, प्रतिनिधि परिचालन र विविध शीर्षकमा गर्न सकिने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए।

उमेदवारले खर्च गर्दा बैंक वा वित्तीय संस्थामा छुट्टै खाता खोली सोही खाताबाट खर्च गर्न सकिने छ। यसरी खर्च गर्दा निजको तर्फबाट खर्च गर्ने जिम्मेवार पदाधिकारी तोकी उनैको नामसहितको विवरण निर्वाचन अधिकृतको कार्यालय तथा निर्वाचन कार्यालयमा जानकारी गराउन आयोगले निर्देशन दिएको छ।

पुष २९, २०८० आइतबार १२:५१:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।