स्कटल्यान्डविरुद्ध यू-१९ नेपाली टिमको सहज जित
काठमाडौं : आईसीसी यू–१९ विश्वकप अघिको आधिकारिक अभ्यास खेलमा नेपाली टिमले स्कटल्यान्डविरुद्ध सात विकेटको जित निकालेको छ।
डकवर्थ लुइस पद्धति (डीएलएस) पद्दतिअनुसार दक्षिण अफ्रिकामा भएको खेलमा स्टकल्यान्डले प्रस्तुत गरेको ११५ रनको लक्ष्य पछ्याएको नेपालले २९.१ ओभरमा तीन विकेट गुमाएर ९९ रन बनाएको अवस्थामा वर्षाका कारण खेल रोकिएको थियो। त्यसपछि खेल पुनः सुचारू हुन नसक्दा नेपाल सात विकेटले विजयी घोषित भएको हो।
नेपालको जितका लागि अर्जुन कुमालले ३३ र आकाश त्रिपाठीले २९ रन बनाए।
स्कटल्यान्डका म्याकेन्जी जोन्सले दुई विकेट लिए। यस्तै, इब्रमहिम फैसलले एक विकेट लिए। त्यसअघि टस जितेर ब्याटिङमा आएको स्कटल्यान्डले ४४.४ ओभरमा सबै विकेट गुमाएर ११४ रनको योगफल तयार पारेको थियो।
स्कटल्यान्डका उजिर अहमदले ३१ र ह्यारी आर्मस्ट्रङले २३ रन बनाए।
नेपालका गुल्सन झा र तिलकराज भण्डारीले समान तीन विकेट लिए। नेपालले अन्तिम अभ्यास खेलमा मंगलबार वेस्ट इन्डिजसँग खेल्नेछ।
नेपालले दक्षिण अफ्रिकामा यसअघिका दुई अभ्यास खेलमा स्कटल्यान्डलाई १३५ र नामिबियालाई ६ रनले हराएको थियो। तर, ती दुवै खेल आईसीसीको आधिकारिक अभ्यास खेलअन्तर्गत भने थिएनन्।
पुष २९, २०८० आइतबार १०:०२:५१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।