मुक्तिनाथ केबुलकारमा लगानी गर्न सिंगापुरको कम्पनी तयार, लागत ५५ अर्ब १८ करोड
काठमाडौँ : कास्कीबाट मुक्तिनाथ जोड्ने केबुलकारको निर्माणमा भारतसँगै सिंगापुरको कम्पनी समेत जोडिन तयार रहेको कम्पनीले जानकारी दिएको छ।
५५ अब १८ करोड रुपैयाँ लागत अनुमान गरिएको सो केबलकारको प्रवर्धक कम्पनी मुक्तिनाथ दर्शन प्रालिका अध्यक्ष अरुणकुमार सुवेदीले जानकारी दिए।
शनिवार भएको प्रालीको साधारण सभामा उनले यो परियोजनाका लागि स्वपुँजी र कर्जा लगानीका लागि लामो समयदेखि सम्बद्ध पक्षहरूसँग विभिन्न चरणमा वार्ता हुँदै आएको जानकारी दिएका थिए।
ठेक्का तथा कर्जा व्यवस्थापनको सर्तसहित इपीसीएफ मोडलमा भारतको हैदराबादस्थित के एन्ड आर रेल इन्जिनियरिङसँग सम्झौता गर्न प्रारम्भिक सहमतिमा हस्ताक्षर भएको उनले जानकारी दिएका थिए।
सम्झौताका लागि केबुलकार प्रणाली कम्पनीले स्वीकृत गरेको मात्र हुन पाउने, प्रणाली खरिदको मूल्य निर्धारणको वार्तामा कम्पनी पनि सहभागी हुने, कर्जा भारतीय रुपैयाँमा उपलब्ध हुनुपर्ने लगायतका सर्त रहेको उनले साधारण सभामा जानकारी गराएका थिए।
उक्त सर्त पुरा हुने अवस्थामा के एन्ड आर रेल इन्जिनियरिङ काम गर्न तयार रहेको सुवेदीले बताएका छन्।
संस्थापक सेयरमा लगानीको हकमा सिंगापुरको एक कम्पनीले ५० प्रतिशत सेयर खरिद सम्झौताका लागि तयार रहेको र नेपाल भित्रबाट आइपीओबाहेक संस्थापक सेयरको ५० प्रतिशत मात्र जुटाउनु पर्ने स्थिति रहेको उनले जानकारी दिए।
‘अब सरकारी पक्षबाट सबै प्रशासनिक प्रक्रिया पुरा गरिदिएमा र वैदेशिक लगानीको प्रक्रिया पुरा भएमा आगामी लगानी सम्मेलनमा लगानी सम्झौता गर्न कम्पनी तयार छ’ उनले भने।
परियोजना निर्माण हुने क्षेत्रको अधिकांश जग्गाको बैना गर्ने काम सकिएको उनले जानकारी दिए।
‘अब कम्पनीको नाममा जग्गा नामसारी गर्नुपर्ने अवस्था आएको छ। यसका लागि वित्तीय स्रोत व्यवस्थापनका लागि सबै सेयरधनी महानुभावहरूमा अनुरोध गर्दछु,’ उनले भने।
विस्तृत परियोजना प्रतिवेदनका अनुसार केबुलकार निर्माणका लागि करिब ५५ अर्ब १८ करोड रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान छ।
परियोजनामा लागतको २० प्रतिशत स्वपुँजी र ८० प्रतिशत कर्जा रहने अनुमानका आधारमा काम अघि बढाइएको उनले बताए।
उक्त स्वपुँजीमध्ये बढीमा ४५ प्रतिशतसम्म सर्वसाधारण (जग्गाधनी, गाउँपालिकावासीसमेत)लाई सेयर बिक्री गरिने र ५५ प्रतिशत प्रवर्धकहरूको सेयर हुने सर्तका साथ अनुमति प्राप्त भएको उनले जानकारी दिए।
पुष २८, २०८० शनिबार १८:५९:५५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।