ठूला भनिएका दलहरूले संविधान र व्यवस्थामाथि प्रहार गरे : रवि लामिछाने

ठूला भनिएका दलहरूले संविधान र व्यवस्थामाथि प्रहार गरे : रवि लामिछाने

 

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले ठूला भनिएका दलहरूले संविधान र व्यवस्थाविरुद्धको काम गरेको बताएका छन्।

शनिबार काठमाडौंमा रास्वपा सांसद बिराजभक्त श्रेष्ठको एक वर्षे कार्यकालको प्रतिवेदन सार्वजनिक कार्यक्रममा बोल्दै उनले सत्ताधारी दलहरूबाटै परिवर्तनमाथि खतरा रहेको बताए।

उनले चुनावमा पराजित भएकालाई चोर बाटोबाट राष्ट्रियसभामा ल्याउन ठूला भनिएका दलहरू लागि परेको तर्क गरे।

उनले भने, ‘परिवर्तनमा प्रहार त्यसले गर्यो जसले भर्खर चुनाव हारेकालाई यिनीहरू नभई हुँदैन भन्दै चोर बाटोबाट राष्ट्रियसभामा ल्याउनका लागि संविधान र व्यवस्थाको भद्दा मजाक बनाएर यो काम गरे, उनैले प्रहार गरिरहेका छन्।’

उनले भ्रष्टाचारका ठूला–ठूला फाइल खोलिए पनि आफ्ना मान्छेलाई जोगाउन फाइल नै बन्द गरिएको जिकिर गरे।

उनले भने, ‘यो व्यवस्थामा यति खतरा कसबाट छ? कसले यो व्यवस्थालाई खतरा गर्यो? परिवर्तनमाथि प्रहार त्यसले गर्यो जसले अनुसन्धान हुँदा हुँदैको फाइल बन्द गर्यो। जसले चुनाव हारेका मान्छेलाई राष्ट्रियसभामा ल्याउनका लागि संविधानको भद्दा मजाक बनाउँदै छ।’

राष्ट्रपतिले चुन्न राखेको ठाउँमा पनि भर्खरै चुनाव हारेका मान्छेलाई लिएर आउने अनि व्यवस्थामाथि खतरा भयो भन्ने उनले प्रश्न गरे ।

पुष २८, २०८० शनिबार १८:५३:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।