स्त्रीरोग विशेषज्ञ डा. गणेशको उपचार अनुभव : तालिमै नलिएकाले गर्भपतन गराउँदा महिलाको पाठेघर नै क्षत-विच्छेद बनाए, पिसाब थैली नै फुटाए

स्त्रीरोग विशेषज्ञ डा. गणेशको उपचार अनुभव : तालिमै नलिएकाले गर्भपतन गराउँदा महिलाको पाठेघर नै क्षत-विच्छेद बनाए, पिसाब थैली नै फुटाए

प्रसूति तथा स्त्रीरोग विशेषज्ञ प्राध्यापक डाक्टर गणेश दङ्गालले सयौं महिलाको ज्यान बचाएका छन्। आफूले उपचार गरेका व्यक्तिको ज्यान बाँच्दा आनन्द नलाग्ने कुरै भएन। तर, सबै केसले आनन्द मात्र दिन्न, पीडा पनि दिन्छ। कतिपयको अथक प्रयास गर्दा पनि ज्यान जोगिन्न। त्यो बेला मन कटक्क हुन्छ नै।

चिकित्सकीय पेसाको शिलशिलामा भोगेका यस्तै दुःख सुख डा. गणेशले उकेरासँग साटेका छन्।

असुरक्षित गर्भपतन गर्दा ३० वर्षे महिलाको पाठेघर नै क्षत-विच्छेद भएपछि...

घटना करिब आठ वर्ष अगाडिको हो। करिब ३० वर्षकी विवाहित महिलाको अनिच्छित रुपमा गर्भ बस्यो। त्यसअघि ती महिलाका सायद दुई जना बालबच्चा भइसकेका थिए।

अनिच्छित गर्भ बसेपछि श्रीमान–श्रीमतीले गर्भपतन गर्ने निर्णय गरेछन्।  त्यसपछि उनीहरू गर्भपतनका लागि एउटा स्वास्थ्य संस्थामा पुगे। स्वास्थ्य संस्थामा औजारको माध्यमले ती महिलाको गर्भपतन गरियो।

गर्भपतन गर्ने स्वास्थ्यकर्मी तालिम प्राप्त रहेनछन्। गर्भपतन गर्ने क्रममा उनको पाठेघर लगायतका अंगमा घाउ तथा चोट लागेछ। घाउका कारण महिलाको रक्तश्राव भयो। 

असुरक्षित गर्भपतनका कारण महिलाको स्वास्थ्य अवस्था जटिल बनेपछि ती महिलालाई काठमाडौं मोडल अस्पताल पुर्याइयो। अस्पताल पुर्याउँदा ती महिला अर्ध-बेहोस थिइन्। परिक्षणमा महिलाको पाठेघर र पिसाब थैली फुटेको खुल्यो। स्वास्थ्य अवस्था नाजुक थियो। 

तत्कालै शल्यक्रिया नगर्ने हो भने महिलाको ज्यान जाने अवस्था भएकाले डा. गणेश लगायत चिकित्सकको टिमले शल्यक्रियाका लागि शल्यक्रिया कक्षमा लगिहाले।

महिलालाई रगत चढाइयो अनि डा. गणेश लगायतको चिकित्सकको टिमले तुरुन्तै शल्यक्रिया शुरु गर्यो। पाठेघर जोगाउनसक्ने अवस्था थिएन। चिकित्सकको टिमले असुरक्षित गर्भपतनका क्रममा क्षत–विच्छत भएको पाठेघर शल्यक्रिया गरेर निकाल्यो। क्षत–विच्छत भएको पिसाबथैली सिलाइयो। 

असुरक्षित गर्भपतनका क्रममा महिलाको पाठेघरमा रहेको भ्रूणको अंगका टुक्रा निकालेर सफा गरियो। धन्न, केही समयको मेहनतपछि महिलाको शल्यक्रिया सफल भयो। उनको ज्यान जोगियो। केही दिन अस्पतालमा उपचारपछि महिला डिस्चार्ज भइन्।

कानुनत कुन अवस्थामा गर्भपतन गराउन सकिने प्रावधानहरु छन्। उनीहरुले कानुन अनुसारै गर्भपतन गराउन सक्थे। तर उनीहरुलाई कहाँ गर्भपतन गराउँदा सुरक्षित हुन्छ भन्ने ज्ञानको अभावमा तालिमै नभएकाको हातमा परे।

अनिच्छित गर्भपतन गर्नु परेको खण्डमा नेपाल सरकारले तोकेको (दर्ता भएको) स्वास्थ्य संस्थामा कानुनी दायराभित्र रही दक्ष तथा तालिम प्राप्त जनशक्तिबाट गर्भपतन गराएको भए ज्यानकै जोखिम हुने थिएन।

कपर्टीले पाठेघरमै प्वाल

करिब १७ वर्ष अघि असुरक्षित रुपमा पाठेघरमा राखिएको कपर्टी निकाल्दा एक जना इटाभट्टामा काम गर्ने मजदुर महिलाको ज्यानै जोखिममा परेको घटना पनि डा. गणेश सम्झन्छन्।

उनी सायद रुकुम, रोल्पातिरकी महिला थिइन्। आर्थिक अवस्था कमजोर भएकी करिब ३६ वर्षीय ती महिला काठमाडौंमा इटा भट्टामा काम गर्थिन्। उनले अनिच्छित गर्भ रहनबाट बच्न एउटा क्लिनिकमा गएर पाठेघरमा कपर्टी राखेकी रहिछन्। 

तर, क्लिनिकमा कपर्टी राख्दा नमिल्दा समस्या निम्तियो। कपर्टी राखेपछि कपर्टीको धागो नै हराएछ। त्यसपछि कपर्टी निकाल्न कोसिस गरियो। तर, कपर्टी झन् सरेर पाठेघरभित्रै पसेछ। कपर्टी निकाल्न कोसिस गर्ने क्रममा ती महिलाको कपर्टीले छेड्दा पाठेघर नै फुटेछ। आन्द्रा पनि फुटेछ। 

पाठेघर र आन्द्रा नै फुट्दा पनि उनी २-४ दिन पेट दुख्ने लगायतको औषधि खाएर बसिछन्। उनलाई उद्धार गरेर एक जनाले शनिबारको दिन थापाथली स्थित प्रसूति तथा स्त्रीरोग अस्पतालमा पुर्यायो।

त्यहाँ पूर्ण उपचार सम्भव भएन। महिलाको अवस्था जटिल बनेपछि डा. गणेशको टिमसँग समन्वय गरेर भोलिपल्ट बिहान उनलाई मोडल अस्पतालमा रेफर गरियो। आर्थिक अवस्था समेत कमजोर भएकी ती महिलालाई थप उपचारको सहजताका लागि मोडल अस्पताल रेफर गरिएको थियो।

मोडल अस्पताल पुर्याउँदा महिलाको स्वास्थ्य अवस्था जटिल बनिसकेको थियो। उनी बेहोस थिइन्। संक्रमण शरीरमा फैलिसकेको थियो। महिलाको तुरुन्तै शल्यक्रिया गर्नुपर्ने अवस्था थियो। 

शल्यक्रिया गरेर पनि ती महिलालाई बचाउन कठिन हुने देखियो। शल्यक्रिया नगर्दा त झन् ती महिलाको मृत्यु निश्चित नै थियो। जोखिम मोलेरै भएपनि ती महिलालाई बचाउने प्रयास स्वरूप चिकित्सकको टिम शल्यक्रिया गर्ने निष्कर्षमा पुग्यो।

उनलाई शल्यक्रिया कक्षमा लगेर शल्यक्रिया थालिहाल्यो। पाठेघरमा छिरेको कपर्टी निकालियो। चिकित्सकको टिमले प्वाल परेको पाठेघर, आन्द्रा टाल्यो। पेटको बाहिर आन्द्रा निकालेर एक किसिमको ब्यागमा दिसा गर्ने बाटो बनाएर दिसा जाने ठाउँ बनाइयो।

चिकित्सकको टिमको केही घण्टाको मेहनतपछि शल्यक्रिया सफल भयो। केही दिन आईसियुमा राखेपछि महिलाको स्वास्थ्य अवस्थामा सुधार देखियो। उनको ज्यान जोगियो।

करिब दुई हप्ता अस्पतालको बसाइपछि उनी डिस्चार्ज भइन्। करिब तीन महिनापछि पुनः शल्यक्रिया गरेर ती महिलाको पेटबाट दिसा बाहिर जान बनाइएको बाटो पनि पूर्ववत् अवस्थामा नै राखियो। र, सामान्य अवस्थामा नै पुगिन्।

साना छोराछोरी समेत भएकी ती महिलालाई बचाउन सकेको त्यो प्रसंग सम्झँदा अझै डा. गणेशलाई आनन्द लाग्छ। अस्पताल र विभिन्न व्यक्ति तथा संस्थाहरूको आर्थिक सहयोगमा ती महिलाको उपचार भएको उनी सम्झन्छन्।

कपर्टीकै कारण ती महिलाको ज्यानै जोखिममा परेको सम्झँदै डा. गणेश परिवार नियोजनको साधन प्रयोग गर्ने क्रममा कुनै समस्या निम्तिए तुरुन्तै विशेषज्ञ चिकित्सकको सम्पर्कमा पुगेर परामर्श लिनुपर्ने सुझाव दिन्छन्। त्यसैगरी दक्ष विशेषज्ञको सल्लाहमा मात्रै परिवार नियोजनको साधन प्रयोग गर्न उनको सुझाव छ।

ती सुत्केरीको मृत्यु सम्झँदा...

चिकित्सकिय पेशामा सबै सफलताका केसहरु मात्रै हुन्नन्। चिकित्सकको उदेश्य उपचारका लागि आएकालाई निको बनाएर घर फर्काउने नै हुन्छ। तर कहिलेकाही चाहेर पनि ज्यान जोगाउन सकिन्न। त्यस्तै एक घटना सम्झिए उनले।

करिब दस वर्ष अघि हेपाटाइटिस–‘ई’ को समस्या भएकी करिब ३० वर्षकी महिलालाई बचाउन सकेनन् उनले। सम्झदा नि मन कटक्क हुने रहेछ उनको।

गर्भवती अवस्थामा हेपाटाइटिस भयो भने कलेजोमा असर गरेर मृत्युसम्म हुनसक्छ। गर्भवती भएकै अवस्थामा हेपाटाइटिस भएकी ती महिलाले बच्चा पनि जन्माइन्। तर, बच्चा जन्मिएपछि समेत ती महिलाको स्वास्थ्यमा सुधार भएन। हेपाटाइटिसका कारण कलेजोले काम नगर्ने अवस्था भयो। र, अन्ततः अस्पतालमा उपचारकै क्रममा ती महिलाले अन्तिम सास फेरिन। नवजात शिशुले आमा गुमाउनुपर्यो।

गर्भवती अवस्था महिलाको हकमा जति रोमाञ्चक अवस्था हो शारिरिक रुपमा त्यति नै जोखिमपूर्ण हो। स्वास्थ्य अवस्थाप्रति सामान्य हेलचेक्राइ गर्दा पनि ज्यान जान सक्छ। तर धेरैमा यस्तो सचेतना नहुँदा समयमै उपचार गर्दा जोगिनसक्ने ज्यान पनि गुमिरहेको अनुभव हुन्छ उनलाई।

जन्म खोटाङबसाइँ सरेर सुनसरी

गणेश वि. सं. २०२५ मा खोटाङको खिदिमामा जन्मिएका हुन्। तर, उनी तीन वर्षको हुँदा उनको परिवार सुनसरीको तरहरामा बसाइँ सर्यो। 

त्यसैले प्राथमिक शिक्षा उनले इटहरीमा नै लिए। गणेशले २०४१ मा इटहरीको जनता माविबाट एसएलसी गरे।

एसएलसीपछि उनले धरानको हात्तीसारस्थित साइन्स कलेजबाट आईएस्सी गरे। विज्ञान विषय अध्ययन गरेपछि डाक्टर पढ्न पाइन्छ भन्ने उनलाई थाहा थियो। 

आइएस्सपिछि डा. गणेशले त्रिभुवन विश्वविद्यालय अन्तर्गत महाराजगञ्ज चिकित्सा क्याम्पसमा एमबीबीएस अध्ययन थाले। उनले सन् १९९४ मा एमबीबीएस गरे। त्यो बेला एमबीबीएस अध्ययनका लागि १५ जनाको कोटा हुन्थ्यो। उनले त्यहाँ छात्रवृत्ति कोटामा नै अध्ययन गरे।

एमबीबीएस अध्ययनपछि करार जागिरेको रुपमा डा. गणेशले केही समय त्रिवि विक्षण अस्पतालमा शल्यक्रिया  विभागमा काम गरे।

त्यो बेला नेपालमा चिकित्सा शास्त्रको स्नातकोत्तर तहको अध्ययन भर्खर हुन थालेको थियो। तर, सीमित सिट हुने भएकाले अध्ययनका लागि सिट पाउन कठिन थियो। त्यसैले उनी स्नातकोत्तर तहको एमडी अध्ययनका लागि पाकिस्तान पुगे।

त्यहाँ करिब ६ महिना अध्ययन गरेपछि नेपालमा नै उनले चिकित्सा शास्त्रको एमडी अध्ययन गर्ने मौका पाए। त्यसैले उनले पाकिस्तानको पढाइ छाडेर छनोट परीक्षामा छनोट भई त्रिविको महाराजगञ्ज चिकित्सा क्याम्पसमा स्नातकोत्तर तहको प्रसूति तथा स्त्रीरोग विषयमा एमडी अध्ययन थाले।

गणेशले सन् १९९९ मा तीन वर्षे एमडी अध्ययन सके। त्यो बेला एमडी अध्ययन गरिरहेका विद्यार्थीले शिक्षण अस्पताल, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, पाटन अस्पतालमा पोष्टिङ्ग भएर काम गर्नु पर्थ्यो। 

त्यसकारण पनि तीन वटै फरक फरक प्रकृतिको अस्पतालमा फरक फरक ज्ञान तथा सीप सिक्ने समेत अवसर पाएको उनले सुनाए।

एमडी अध्ययन सकेपछि उनी काम गर्न झापाको आम्दा अस्पतालमा पुगे। त्यहाँ उनले केही समय काम गरे। त्यसपछि डा. गणेश लोकसेवा परीक्षामार्फत सन् २००० तिर सातौं तहको मेडिकल अधिकृतका रुपमा स्थायी सरकारी जागिरे भए। 

सरकारी स्थायी जागिरे भएपछि उनको मोरङको विराटनगरस्थित तत्कालीन कोशी अञ्चल अस्पतालमा सरुवा भयो।

त्यो बेला सरकारी तहकै चितवनको भरतपुरस्थित वीपी क्यान्सर अस्पताल खुल्यो। डा. गणेशलाई त्यो अस्पतालमा काम गर्न मन लाग्यो। त्यसैले उनी कोशीबाट काजमा भरतपुरको वीपी क्यान्सर अस्पतालमा आए।

त्यहाँ आफूले स्त्री क्यान्सर रोगको विभाग नै सुरुवात गरेको उनले सुनाए। त्यहाँ उनले तीन वर्ष काम गरेपछि डा.  गणेशको आठौँ तहमा बढुवा हुने समय पुगेको थियो। त्यो बेला उपत्यका बाहिर तीन वर्ष काम गरेपछि सातौँबाट आठौँमा बढुवाका लागि उनको बाटो खेलेको थियो। 

त्यसैले उनले बढुवाका विषयमा स्वास्थ्य मन्त्रालयमा आएर सोधखोज गरे र बुझे। बढुवा नहुने भएपछि उनले काठमाडौंमा नै काम गर्न सरुवा मागे। तर, सरुवा भएन।

त्यसपछि उनलाई पनि झ्वाँक चल्यो। उनी सरकारी जागिर नै छाड्ने मनस्थितिमा पुगे। डा. गणेशले सरकारी जागिरबाट नै राजीनामा गरे।

त्यो बेला डा. अर्जुन कार्की लगायतको टिमले काठमाडौं विश्वविद्यालयको मेडिकल कलेज (कुम्स) सुरु गरेका थिए। त्यसैले डा. कार्की लगायतले उनलाई त्यहाँ शैक्षिक कामका लागि बोलाए। त्यसैले उनी धुलिखेलमा चिकित्सा शास्त्रका विद्यार्थीलाई पढाउने लगायतका शैक्षिक गतिविधिमा संलग्न भएर काम गरे। 

त्यतिबेला सरकार र तत्कालीन विद्रोही माओवादी बीचको सशस्त्र द्धन्द्धको समय थियो। एकातर्फ काठमाडौंबाट टाढा अनि द्धन्द्धको समय भएकाले आवतजावतमा नै उनलाई कठिन महसुस भयो। 

त्यसैले उनले काठमाडौं विश्वविद्यालयको पनि जागिर छाडे। त्यहाँको जागिर छोडेपछि डा. गणेशले सन् २००५ मा काठमाडौंको मोडल अस्पतालमा काम गर्न थाले। त्यस यता उनी मोडल अस्पतालमा नै कार्यरत छन्।

काठमाडौं मोडल अस्पतालमा सिनियर कन्सल्टेण्टका रुपमा डा. गणेश कार्यरत छन्। फेक्ट (पब्लिक हेल्थ कन्र्सन ट्रष्ट) नेपालको प्राज्ञिक निर्देशकको भूमिकामा समेत कार्यरत छन्। 

यो संस्था अन्तर्गत मोडल लगायत अस्पताल छन्। त्यसैगरी उनी सन् २०१५ यता चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको प्राध्यापकको भूमिकामा समेत कार्यरत छन्। उनी बेलायतको वर्न माउथ युनिभर्सिटीको भिजिटिङ्ग प्रोफेसरका रुपमा कार्यरत छन्। 

डा. गणेश स्वदेश तथा विदेशका अन्य विभिन्न शैक्षिक कार्यक्रममा प्रत्यक्ष संलग्न भएर कार्यरत छन्। उनले विभिन्न मुलुकबाट चिकित्सा विज्ञान सम्बन्धी ज्ञान तथा सीप सिक्ने मौका पाएका छन्।

डा. गणेश स्वदेशमा मात्रै हैन, विदेशका इजरायल, अमेरिका, हङ्गकङ्ग, चिली लगायतका मुलुकमा पुगी चिकित्सकीय ज्ञान तथा सीप सिकेका छन्। उनले हङ्गकङ्गबाट गाइने अंकोलोजी र इजरायलबाट ल्याप्रोसकोपी तथा क्यान्सर सम्बन्धी विषयमा फोलोसिप गरी ज्ञान तथा सीप सिकेका छन्।

अध्ययन अनुसन्धानमा व्यस्त

डा. गणेश विरामीको उपचार बाहेक चिकित्सा विज्ञानसँग सम्बन्धित अध्ययन अनुसन्धानमा पनि उत्तिकै व्यस्त हुन्छन्। देश–विदेशका विभिन्न प्रतिष्ठित जर्नलमा उनका करिब दुई सय चिकित्सा विज्ञान सम्बन्धी अनुसन्धानात्मक लेख प्रकाशित छन्। नेपाल स्वास्थ्य अनुसन्धान परिषदको जर्नलमा समेत उनले प्रधान सम्पादकका रुपमा काम गरेको उनलाई अनुभव छ। दर्जनौँ पत्रपत्रिकामा लेख रचना प्रकाशित छन्।

उनले दर्जन हाराहारी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार पाएका छन्। विशेषगरी चिकित्सा विज्ञान सम्बन्धी लेख लेख्नु त छँदै छ उनी अनुसन्धानमुलक लेखको सम्पादनमा समेत त्यतिकै सक्रिय छन्। दर्जनौँ राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका जर्नलको सम्पादकीय नेतृत्वमा रहेर काम गरेको उनको अनुभव छ।

नेपाल स्त्रीरोग तथा प्रसूति विशेषज्ञ समाज (नेसोग)को अध्यक्षको भूमिकामा समेत उनले काम गरिसकेका छन्। त्यसैगरी विभिन्न अन्तर्राष्ट्रिय पेशो गत समाजमा समेत उनी सक्रिय भूमिकामा छन्।

२०७२ भूकम्पको समयमा भूकम्पमा परी घाइते भएका व्यक्तिलाई निःशुल्क उपचारका लागि सक्रिय भूमिका खेलेको उनले सुनाए। र, पछिल्लो पटक कोरोना भाइरस संक्रमणको महामारीको समयमा समेत उनले उपचार व्यवस्थापनका लागि भूमिकामा खटेर काम गरे।

पिसाब चुहिने उपचारमा केन्द्रित

डा.  गणेश विशेषगरी प्रसूति तथा स्त्रीरोगका विषयमा नै केन्द्रित भएर विरामीको औषधी उपचारमा हुन्छन्। बिरामीको उपचार बाहेक उनी अस्पतालमा शैक्षिक कार्यक्रममा समेत सक्रिय हुन्छन्।

डा. गणेश विशेषगरी प्रसव फिस्टुलाको उपचारमा केन्द्रित हुन्छन्। गर्भवतीले बच्चा जन्माउने क्रममा बच्चाको टाउको गर्भमा नै अड्किएको खण्डमा पिसाबको थैलीमा प्वाल परेर पिसाब चुहिराख्ने समस्यालाई प्रसव फिस्टुला भनिन्छ।

पाठेघर र पिसाब थैली नजिकै हुने भएकाले बच्चा जन्माउँदा महिलामा यस्तो समस्या निम्तिन सक्छ। गर्भमा ठूलो बच्चा छ, लामो समय प्रसूति व्यथा लाग्यो, जन्मने क्रममा बच्चा अड्किने जस्तो समस्या भएको खण्डमा पिसापको थैलीमा घाउ भएर पिसाब चुहिराख्ने समस्या निम्तिन सक्ने उनले सुनाए। 

प्रसव फिस्टुलाको यस्तो समस्या भएका महिलालाई विशेष सर्जरी गरी उपचार गर्नुपर्ने डा. गणेशले सुनाए।

सरकारले प्रसव फिस्टुलाको नि:शुल्क उपचार दिने सूचीकृत अस्पतालमध्ये मोडल अस्पताल पनि एक भएको उनले सुनाए। जहाँ महिलाको फिस्टुलाको नि:शुल्क शल्यक्रिया हुने उनले सुनाए। डा. गणेशले इथोपियामा पुगेर यो विषयमा ज्ञान तथा सीप सिकेका छन्।

त्यसैगरी महिलाको पिसाब चुहिने, छिनछिनमा पिसाब लाग्ने जस्ता समस्याको पनि उनी उपचार गर्छन्। चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानबाट डा. गणेशले महिलाको पिसाब सम्बन्धी ‘युरो गाईने’ गाइने विषयमा विशिष्टिकृत (सुपरस्पेशलाईजेशन) तहको अध्ययन गरेका छन्।

अहिले पेट नचिरिकन दुरविन विधिबाट पाठेघरको ट्युमर निकाल्ने, पिसाब चुहिने समस्याको शल्यक्रिया गरी उपचार गरिने गरेको उनले सुनाए। 

पेट नचिरी गरिने यस्तो शल्यक्रियाको विधिलाई ल्याप्रोस्कोपिक सर्जरी भनिन्छ। खोक्दा, हाक्ष्यूँ गर्दा तथा बल पर्दा समेत पिसाब चुहिने समस्या भएकी करिब ५५ वर्षकी एक जना आफ्नै नातेदारको समेत शल्यक्रिया गरी ठिक भएको प्रसंग उनले सुनाए।

डा. गणेशले करिब तीन वर्ष क्यान्सर अस्पतालमा समेत काम गरेका हुनाले उनले त्यहाँ क्यान्सरको विषयमा समेत तथा ज्ञान तथा सीप सिक्ने मौका पाएका थिए। 

उनले महिलामा हुने क्यान्सरको विषयमा थप ज्ञान तथा सीप सिकेका छन्। त्यसैले डा. गणेश क्यान्सर भएका महिलाको क्यान्सरको शल्यक्रिया तथा औषधि उपचारको काम गर्छन्।

२८ पुस, २०८०, १८:३१:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।