अहिले भएका मन्त्रालयलाई पनि घटाउनुपर्छ : गृहमन्त्री

अहिले भएका मन्त्रालयलाई पनि घटाउनुपर्छ : गृहमन्त्री

काठमाडौं : उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले मन्त्रालयहरूको संख्या घटाउनुपर्ने प्रस्ताव गरेका छन्।

अहिले नै मन्त्रालय थप्ने कुरा सम्भव नभएकाले भएकालाई पनि घटाउनुपर्ने उनको तर्क छ।

आज ललितपुरमा आयोजित नेपाल हस्तकला महासंघको ४३ औं वार्षिक साधारणसभामा गृहमन्त्री श्रेष्ठले महासंघको हस्तकला निर्यात विकास मन्त्रालय बनाऔँ भन्ने माग सम्बोधन गर्न नमिल्ने बताए। यो हस्तकला विकास मन्त्रालय नै बनाऔँ भन्ने महासंघको माग सम्बोधन गर्न मिल्छ जस्तो आफूलाई नलागेको गृहमन्त्री श्रेष्ठको भनाइ थियो।

उनले सरकारले हस्तकला जस्तो तुलनाात्मक लाभको क्षेत्रलाई प्राथमिकता दिएर मुलुकको आर्थिक विकासलाई तीव्रता दिन चाहेको बताए।

उनले भने, ‘अहिले हामी सकारात्मक दिशामा अघि बढिरहेका छौँ। तर हामी आत्मालोचित हुँदै भनिरहेका छौँ कि हामीले परिवर्तनमा अन्तर्निहित निर्देश अनुसारको जनताको अपेक्षा र आजको आवश्यकताअनुसार विकास र सम्बृद्धिको गतिलाई जुन अनुपात दिनुपर्थ्यो, त्यो दिन सकिराखेका छैनौँ।’ 

उनले मुलुकको विकास र समृद्धिका लागि ठूल्ठूलो उद्योग स्थापना गरेर अघि बढ्न सकिने अवस्था तत्कालका लागि नरहेकाले पनि सरकारले तुलनात्मक लाभका क्षेत्रहरूको पहिचान गर्ने र त्यसलाई अघि बढाउने कामलाई प्राथमिकता दिएको बताए।

पुष २८, २०८० शनिबार १४:५६:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।