नाउपा महाधिवेशन : क्रुर अपराधका दोषी अध्यक्ष, श्रीमान-श्रीमती बीच खट्पट, उपाध्यक्षमा सहमति हुनै सकेन

नाउपा महाधिवेशन : क्रुर अपराधका दोषी अध्यक्ष, श्रीमान-श्रीमती बीच खट्पट, उपाध्यक्षमा सहमति हुनै सकेन

 

काठमाडौं : हिजो देखि कैलालीको टिकापुरमा सुरू भएको नागरिक उन्मुक्ति पार्टीको पहिलो महाधिवेशन विवादरहित हुन सकेन।

पार्टीका निवर्तमान संरक्षकका रूपमा रेशमलाल चौधरीले पहिलो महाधिवेशन ऐतिहासिक र विवादरहित बनाउने दाबी गर्दै आए पनि उनले भनेजस्तो महाधिवेशन भएन।

महाधिवेशनलाई उद्घाटन गर्न प्रधानमन्त्री एबम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आउने चौधरीको प्रचार थियो। तर, प्रचण्डले नाउपाको महाधिवेशनमा उपस्थित हुनै जरुरी ठानेनन्।

त्यसो त प्रधानमन्त्री मात्र होइन, संसदको ठूलो दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओली पनि कार्यक्रममा उपस्थित भएनन्। साना दलहरूबाट जनमत पार्टीका अध्यक्ष सिके राउत महाधिवेशनमा उपस्थित हुँदा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पनि सहभागी थिए।

यता, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, मधेशवादी दलहरू जनता समाजवादी, लोकतान्त्रिक समाजवादीको पनि उपस्थिति देखिएन।

नाउपाको महाधिवेशनलाई दलका नेताहरूले त वास्ता गरेनन् नै। सँगैमा रेशमले प्रचार गरेजस्तो लाखौं कार्यकर्ता तथा शुभेच्छुकको पनि उपस्थिति देखिएन।

नाउपाको पहिलो महाधिवेशनले रेशमलाल चौधरीलाई अध्यक्षमा सर्वसम्मत गरेलगत्तै राजनीतिक बृतमा आलोचना सुरू भयो।

नवनिर्वाचित अध्यक्ष चौधरी भर्खरै क्रुर अपराधमा राष्ट्रपतिबाट आममाफी पाएर निस्केका व्यक्ति हुन्। अदालतले क्रुर अपराधमा जन्मकैद सुनाइएका चौधरीको कानुनत: सरकारद्वारा उनको मुद्दा फिर्ता भएको छैन।

सर्वोच्च अदालतमा उनको माफीको निर्णय विरुद्ध परेको सिट बिचाराधिन नै छ। तर, अदालतमा उक्त रिटको पेसी सरेको सर्यै गर्दा पनि उनलाई नाउपाको अध्यक्ष बन्न सहज भएको देखिन्छ।

यस अघि हत्या अभियोगमा राष्ट्रपतिबाट आममाफी पाएर निस्केका रिगल ढकाल विरुद्धमा रिटमा सर्वोच्चले सरकारको निर्णय उल्टाएको थियो। यस नजिरलाई टेक्दा रेशमको रिटमा पनि सर्वोच्चले सरकारको निर्णय उल्ट्याउन सक्छ।

अर्कोतर्फ, नयाँ अध्यक्षमा निवर्तमान अध्यक्ष एबम् रेशमपत्नी रञ्जिता श्रेष्ठको असहमति महाधिवेशन स्थलमै देखियो।

पार्टीमा आफ्नो हैसियत के हुने भन्ने अल्मलिएकी रञ्जिताले महाधिवेशन स्थलनै छोडेर हिँडिन्। स्रोतका अनुसार रञ्जिता पुनः अध्यक्षमै रहन चाहन्थिन्।

हिजोदेखि सुरू भएको महाधिवेशनले २७ पदाधिकारी र २४५ केन्द्रीय सदस्य सर्वसम्मत चयन गरिसकेको छ। तर, उपाध्यक्षमा सहमति हुन नसकेपछि महाधिवेशन अझै टुंगिन सकेको छैन।

प्रमुख निर्वाचन अधिकृत सरोज बुढाथोकीका अनुसार उपाध्यक्षमा कुरा नमिलेपछि निर्वाचन गर्ने तयारी भइरहेको छ।

उपाध्यक्षमा बागमतीको एक पदका तीन जनाको उम्मेदवारी छ भने लुम्बिनी प्रदेशको उपाध्यक्षमा उम्मेदवारी नै परेको थिएन। बागमतीमा मतदान गरेर टुङ्गो लगाउने र लुम्बिनीको उपाध्यक्षका लागि फेरी उम्मेदवारी दर्ताको प्रक्रिया सुरु गर्ने प्रमुख निर्वाचन अधिकृत बुढाथोकीले जानकारी दिए।

पुष २८, २०८० शनिबार १३:१२:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।