जसपाको केन्द्रीय समितिद्वारा महाधिवेशनसम्बन्धी कार्यतालिका पारित

जसपाको केन्द्रीय समितिद्वारा महाधिवेशनसम्बन्धी कार्यतालिका पारित

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय समितिको बैठकले पार्टीको महाधिवेशनसम्बन्धी कार्यतालिका पारित गरेको छ।

आज बसेको बैठकले आगामी जेठ २८ गतेदेखि ३० गतेसम्म धनुषामा आयोजना हुने पार्टी महाधिवेशनको कार्यतालिका पारित गरेको हो।

पारित कार्यतालिका अनुसार संगठित पार्टी सदस्यता वितरण तथा नविकरण गर्न फागुन २५ गतेसम्मको समयसीमा तोकेको छ।

त्यसैगरी संसदीय निर्वाचन क्षेत्रअनुसार संगठित पार्टी सदस्यहरुको अभिलेख तयार गरी जिल्ला समितिले राष्ट्रिय समिति र राष्ट्रिय समितिले प्रदेश समितिमार्फत केन्द्रीय कार्यालयमा चैत्र १० गतेसम्म पठाइसक्नु पर्नेछ।

यसरी सदस्यता वितरण गर्दा मंसिर ३० गतेसम्म पार्टी सदस्यता प्राप्त गरिसकेका वा पार्टी संगठनमा आवद्ध तथा पार्टी संगठनमा कार्यरत पार्टी सदस्यलाई मात्र संगठित पार्टी सदस्यता प्रदान गर्नुपर्ने निर्णय भएको छ।

उक्त पार्टी संगठित सदस्यतासम्बन्धी दाबी विरोध अथवा उजुरी दिने व्यवस्था गरिएको छ त्यसका लागि चैत्र १० गतेसम्मको समयावधि तोकिएको छ।

संसदीय निर्वाचन क्षेत्रको प्रतिनिधि निर्वाचनका लागि पार्टी केन्द्रीय कार्यालयले निर्वाचन समिति गठन गर्नेछ।

महाधिवेशन प्रतिनिधिहरुको चयन तथा निर्वाचन २०८० चैत्र २० गतेदेखि २०८१ बैशाख २० गतेसम्म गरिसक्नुपर्नेछ। यसरी निर्वाचित महाधिवेशन प्रतिनिधिको नामावली केन्द्रीय कार्यालयमा मिति २०८१ बैशाख ३० गतेभित्र पठाइसक्नुपर्नेछ।

महाधिवेशनसम्बन्धी प्रक्रिया एवम् कार्यविधि केन्द्रीय कार्यकारिणी समितिले तोक्ने तथा केन्द्रीय निर्वाचन समिति गठन गर्नेछ।

पुष २८, २०८० शनिबार ११:४७:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।