विद्युत बक्यौता नतिरेको भन्दै काटिएका सबै उद्योगको लाइन पुन: जडान

विद्युत बक्यौता नतिरेको भन्दै काटिएका सबै उद्योगको लाइन पुन: जडान

 

काठमाडौं : नेपाल विद्युत् प्राधिकरणले विद्युत बक्यौता नतिरेको भन्दै काटिएका सबै उद्योगको लाइन जोडेको छ।

गएराति १० बजेसम्म विद्युत काटिएका २३ वटै उद्योगको लाइन जोडिसकेको प्राधिकरणका प्रवक्ता सुरेश भट्टराईले जानकारी दिए।

शुक्रबार बिहान बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले डेडिकेटेड फिडर तथा ट्रंक लाइनबाट विद्युत् उपभोग गरेबापतको महसुल बक्यौता भएका ग्राहकको काटिएको विद्युत लाइन जोडिदिने निर्णय गरेको थियो। मन्त्रिपरिषद् बैठकले पनि महसुल बक्यौता विवाद समाधानका लागि उच्चस्तरीय समिति गठनको निर्णय गर्दै प्राधिकरणलाई लाइन जोडिदिन निर्देशन समेत दिएको थियो।

प्राधिकरणले पाँच करोड रूपैयाँभन्दा धेरै बक्यौता भएका २४ वटा उद्योगको लाइन काटेको थियो। त्यसमध्ये हिमाल स्टीलले बक्यौता किस्ताबन्दीमा तिर्न थालेपछि लाइन जोडिएका थियो। उद्योगमा लाइन काटिएपछि मजदुर आन्दोलित बनेका थिए।

ट्रङ्क र डेडिकेटेड लाइन लिएका ६१ वटा उद्योगले शुल्क तिर्न बाँकी रहेको प्राधिकरणले जनाएको छ।

पुष २८, २०८० शनिबार ११:२५:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।