चीनको चेतावनीका बावजुद ताइवानमा आज राष्ट्रपति र संसदीय निर्वाचन हुँदै

चीनको चेतावनीका बावजुद ताइवानमा आज राष्ट्रपति र संसदीय निर्वाचन हुँदै

एजेन्सी : चीनले चेतावनीका बावजुद ताइवानमा आज राष्ट्रपति र संसदीय निर्वाचनका लागि मतदान हुँदैछ।

देशका १ करोड ९५ लाख मतदाताले आफ्नो मनपर्ने उम्मेदवारलाई मतदान गर्दैछन्।

ताइवानको यो चुनावले देशको राजनीतिक भविष्य मात्र नभएर चीनसँगको सम्बन्ध पनि तय गर्नेछ।

गठन भएदेखि नै ताइवानलाई आफ्नो देशको हिस्सा भन्दै आएको चीनको परराष्ट्र मन्त्रालयले मतदानको एक दिनअघि शुक्रबार पुन: ‘ताइवान चीनको हिस्सा हो र विश्वमा एक मात्र चीन छ’ भनेको छ।

चीनको रक्षा मन्त्रालयले शुक्रबार जारी गरेको नयाँ चेतावनीमा भनिएको छ, ‘पिपुल्स लिबरेसन आर्मी सधैँ उच्च सतर्कतामा छ र ‘ताइवान स्वतन्त्रता’को लागि कुनै पनि पृथकतावादी योजनाहरूलाई असफल बनउने आवश्यक सबै कदम चाल्नेछ।’

यद्यपि, ताइवानको रक्षा मन्त्रालयले शुक्रबार सामाजिक सञ्जाल एक्समा ‘युद्धका लागि सधैं तयार’ रहेको बताएको छ।

वर्तमान राष्ट्रपति साई इङ-वेनले आफ्नो दुई कार्यकाल पूरा गरिसकेकाले यस निर्वाचनबाट देशले नयाँ राष्ट्रपति पाउने निश्चित छ।

नियमअनुसार उनी तेस्रो पटक राष्ट्रपतिमा निर्वाचित हुन सक्दैनन्।

सत्तारुढ ‘डेमोक्रेटिक प्रोग्रेसिभ पार्टी’ (डीपीपी) ले गत वर्षको अप्रिलमा नै आफ्नो नयाँ राष्ट्रपति र वर्तमान उपराष्ट्रपति विलियम लाइलाई सन् २०२४ को राष्ट्रपतीय निर्वाचनमा उम्मेदवार बनाउने निर्णय गरेको थियो।

उनलाई ताइवानको स्वतन्त्रताको कट्टर समर्थक मानिन्छ।

विपक्षी दल ‘कुमिन्टाङ’ (केएमटी) ले ताइपेईको नयाँ मेयर होउ यु–इहलाई उम्मेदवार बनाएको छ। होउ यु-इह चीनसँग घनिष्ठ सम्बन्धको पक्षमा छन्।

यद्यपि उनको पार्टीले ‘चीन समर्थक’ भएको कुरा अस्वीकार गर्दै आएको छ। केएमटीले आजको मतदानलाई ‘शान्ति र युद्धबीचको चुनाव’ भनेर व्याख्या गरेको छ।

अर्को पार्टी ‘ताइवान पिपुल्स पार्टी’ (टीपीपी) ले को वेन–जेलाई उम्मेदवार बनाएको छ।

राष्ट्रपतिमा निर्वाचित उम्मेदवारले चार महिनापछि मे २० मा ताइवानको अर्को राष्ट्रपतिको सपथ लिनेछन्।

पुष २८, २०८० शनिबार ०९:३२:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।