कोशीमा सभामुख लिएपछि राप्रपामा विवाद, केन्द्रीय समितिबाट निर्णय गर्ने लिङदेनको तयारी

कोशीमा सभामुख लिएपछि राप्रपामा विवाद, केन्द्रीय समितिबाट निर्णय गर्ने लिङदेनको तयारी

काठमाडौँ : कोशीको सभामुख लिएपछि केन्द्रमा भइरहेको विवादबारे बोल्दै राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले सभामुख लिनु नौलो नभएको बताएका छन्।

बागमती प्रदेशमा समेत सभामुख पद लिएको भन्दै उनले यसबारे पार्टीभित्र संवेदनशील रूपमा उठेकाले पार्टीको केन्द्रीय समितिमा छलफल गरिने बताए।

कोशीको सभामुखमा अम्बर बहादुर विष्ट सर्वसम्मत चयन भएपछि राप्रपाका नेता डा प्रकाशचन्द लोहनी लगायतका नेताहरू विपक्षमा उभिएका छन्। पार्टीभित्र सभामुख पदबाट तत्काल राजीनामा गर्नुपर्ने माग बढिरहेको बेलामा अध्यक्ष लिङदेन भने सभामुख लिनुपर्ने पक्षमा देखिएका हुन्।

बागमती प्रदेशमा राप्रपाबाट भुवन पाठक सभामुख छन्। पार्टी प्रदेश संरचनाको खारेजी लगायतका माग राख्दै आन्दोलनमा जाने घोषणा गरिसकेको अवस्थामा कोशीको सभामुख लिएपछि भने पार्टीभित्र विवाद बढिरहेको हो। पार्टी महामन्त्री धवलशम्शेर राणा समेत सभामुख लिन नहुने पक्षमा छन्।

शुक्रवार पृथ्वी जयन्तीको अवसरमा पार्टीले आयोजना गरेको चियापान कार्यक्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै लिङदेनले भने, ‘हामीले सभामुख पहिलो पटक लिएका होइनौँ। बागमतीमा पनि सहभागिता छ। यो नौलो कुरा होइन। संसद्मा हामी छौँ भने त्यसको सर्वोच्च पद लिन कसैसँग सर्त नगरी लिन्छौँ।'

उनले यो विषय पार्टीमा संवेदनशील रूपमा उठिरहेकाले पक्ष वा विपक्षमा कुरा गर्नुभन्दा पार्टीको संवेदनशील ढङ्गले उठेको विषय केन्द्रीय कार्यसमितिको बैठक बसेपछि उचित निर्णयमा पुग्ने बताए।

पुष २७, २०८० शुक्रबार १७:३९:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।