क्रूर अपराधमा कैद माफी पाएका रेशम नागरिक उन्मुक्तिको अध्यक्ष बन्दै

क्रूर अपराधमा कैद माफी पाएका रेशम नागरिक उन्मुक्तिको अध्यक्ष बन्दै

काठमाडौँ : अदालतबाटै क्रूर अपराधमा जन्मकैद सुनाइए पनि राष्ट्रपतिबाट कैद माफ पाएर जेलमुक्त भएका रेशम चौधरी नागरिक उन्मुक्ति पार्टीको अध्यक्ष बन्दैछन्।

पार्टीको पहिलो महाधिवेशनमा उनले अध्यक्षका लागि उम्मेदवारी दर्ता गराइसकेका छन्। अध्यक्षमा अर्को आकाङ्क्षी उनकै श्रीमती रञ्जिता श्रेष्ठ चौधरी हुन्।

रेशम टिकापुर घटनामा दोषी ठहर भएर जेल परेपछि उनले आफ्नो संरक्षकत्वमा नागरिक उन्मुक्ति पार्टी बनाएर श्रीमतीलाई अध्यक्ष बनाएका थिए। राष्ट्रपतिबाट कैद माफ भएर रिहा भएपछि उनी संरक्षकको साटो आफैँ पार्टीको नेतृत्व लिन तम्सिएका छन्।

राजनीतिक दल सम्बन्धी कानुन अनुसार नैतिक पतन देखिने फौजदारी कसुरमा कैदको सजाय पाएको व्यक्ति दलको सदस्य समेत हुन नपाउने उल्लेख छ।

कानुनतः सरकारले चौधरीको मुद्दा फिर्ता लिएको हैन। अदालतबाट भएको सजाय अनुसार कैद कट्टा हुन बाँकी कैद सजाय माफ गरेर कारागारमुक्त गराएको हो। कानुनी रूपमा उनी टिकापुर सामूहिक हत्याका दोषी नै हुन्।

उता सर्वोच्च अदालतमा उनको कैद माफीको निर्णयविरुद्ध परेको रिट विचाराधीनै रहेको छ। एक व्यक्तिको हत्यामा कारागारमा रहेका रिगल ढकालको कैद माफी गर्ने राष्ट्रपतिको निर्णय सर्वोच्च अदालतबाट उल्टिसकेको छ। सोही नजिरलाई हेर्दा रेशमको कैद माफीको निर्णय समेत उल्टिने सम्भावना बढी छ। तर अदालतमा पेशी सरेको सर्यै छ।

पुष २७, २०८० शुक्रबार १४:१५:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।