तेल बोकेर इराकबाट टर्की गइरहेको जहाज इरानको कब्जामा, दुई प्रतिशतले बढ्यो मूल्य

तेल बोकेर इराकबाट टर्की गइरहेको जहाज इरानको कब्जामा, दुई प्रतिशतले बढ्यो मूल्य

एजेन्सी : तेल बोकेर इराकबाट टर्कीतर्फ जाँदै गरेको जहाजलाई इरानले नियन्त्रणमा लिएको छ।

बिहीबार बिहान ७:३० बजे सैन्य पोशाक लगाएका चार/पाँच जना मुखौटाधारीले ओमानको तट नजिकै उक्त जहाजलाई नियन्त्रणमा लिएको बेलायती समाचार संस्था बीबीसीले जनाएको छ।

इरान ओमानको खाडीको उत्तरमा अवस्थित छ। यो जहाज ओमानको तटबाट ५० समुद्री माइल टाढा नियन्त्रणमा लिएर इरानको बन्दर–ए–जास्क बन्दरगाहमा लगिएको थियो।

यो घटनालगत्तै कच्चा तेलको मूल्य २.१ प्रतिशतले बढेर प्रति ब्यारेल ७९ डलर पुगेको छ।

हुथी विद्रोहीको आक्रमणका कारण लाल सागरमा आवतजावतमा परेको अवरोधका कारण समस्यामा परेका पश्चिमा देशहरू विशेषगरी बेलायतको समस्या इरानको यो कारबाहीले थप बढ्नसक्ने देखिएको छ।

यी समस्याका कारण कच्चा तेलको मूल्य प्रति ब्यारेल १० डलर र प्राकृतिक ग्यासको मूल्य २५ प्रतिशतले बढ्नसक्ने बेलायतको वित्त विभागले अनुमान गरेको छ।

युरोप ग्यास आपूर्तिका लागि खाडीका देशहरूमा धेरै निर्भर छ। यस्तो अवस्थामा पछिल्लो घटनापछि मुद्रास्फीति बढ्ने सम्भावना छ।

पुष २७, २०८० शुक्रबार १४:०६:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।