पृथ्वीजयन्ती : राष्ट्रप्रमुखले पुष्पहार चढाए, कार्यकारी प्रमुखले विज्ञप्तिसमेत जरुरी ठानेनन्

पृथ्वीजयन्ती : राष्ट्रप्रमुखले पुष्पहार चढाए, कार्यकारी प्रमुखले विज्ञप्तिसमेत जरुरी ठानेनन्

काठमाडौं : राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०२ औं जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस देशभर मनाइदैछ।आधुनिक नेपालको एकीकरण अभियानका नेतृत्वकर्ता शाहले राष्ट्रको एकीकरण अभियानमा पुर्याएको योगदानको स्मरण गर्दै उनीप्रति श्रद्धासुमन अर्पण गरिदैछ।

जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसमा राष्ट्रप्रमुख रामचन्द्र पौडेलले सिंहदरबार पश्चिम गेट पुगेर पृथ्वीनारायणको  सालिकमा पुष्पहार चढाएर सम्मान व्यक्त गरे। त्यसअघि उनले विहानै शुभकामना वकत्व्यसमेत जारी गरेका थिए।

वक्तव्यमा उनले पृथ्वीनारायण शाहका दिव्योपदेश आज पनि उत्तिकै लोकप्रिय र सान्दर्भिक रहेको उल्लेख गरेका छन्। ती दिव्योपदेशहरू अर्थतन्त्र निर्माण, राष्ट्रप्रेम, छिमेकी राष्ट्रसँग कूटनीतिक सम्बन्ध निर्माणमा मार्गदर्शकका रूपमा रहेको राष्ट्रपति पौडेलले उल्लेख गरे।

पृथ्वीनारायण शाहले स–साना टुक्रामा छरिएर रहेका राज्यहरूलाई एकीकरण गरेर आधुनिक नेपालको निर्माण गरेको र सो अभियानलाई इतिहासको विभिन्न कालखण्डमा हाम्रा वीर पुर्खाहरूले  निरन्तरता दिएको कारणले हामीले आज सार्वभौम र स्वतन्त्र नेपाल भनेर गर्व गर्न पाएको बताउँदै उनको योगदानलाई बिर्सन नहुने बताए।

यस्तै उपराष्ट्रपति रामसहाय प्रसाद यादवले राष्ट्रिय एकता दिवसको अवसरमा विविधताको सौन्दर्यलाई राष्ट्रिय भावनामा रुपान्तरण गर्न सके मात्र विविधताले सकारात्मक परिणाम दिनसक्ने उल्लेख गरे।

संविधानले विविधतालाई सकारात्मक परिणाममुखी बनाउन धर्म निरपेक्षता, समावेशीता र समानताको सिद्धान्तलाई अङ्गीकार गरेको भन्दै उनले संविधानको मर्मलाई सम्पूर्ण नेपाली नागरिकले सर्वोपरि ठान्दै राष्ट्रिय एकतालाई बलियो, एक ढिक्का र बनाउनमा हामी एकजूट भई लाग्नुपर्नेमा उनले जोड दिए।

देशको सबैभन्दा ठूलो पार्टी नेपाली कांग्रेसले पनि पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा शुभकामना दियो। पार्टी सभापति शेरबहादुर देउवाले राष्ट्रनिर्माणमा ज्यान दिने शहीदप्रति सम्मानभाव प्रकट गर्दै नेपाल निर्माणमा महत्वपूर्ण योगदान पुर्याएका पृथ्वीनारायण शाहले अवलम्बन गरेका स्वावलम्बी र आत्मनिर्भर अर्थतन्त्र, परराष्ट्र लगायतका कतिपय नीतिहरू आज पनि उत्तिकै सान्दर्भिक रहेको बताए। उनले एकता दिवसको अवसरमा पारस्परिक एकता र सद्भावलाई अगाडि बढाउन प्रेरणा प्रदान गर्न सकोस् भन्दै शुभकामना व्यक्त गरे।

दोस्रो ठूलो दल एमाले अध्यक्ष केपी शर्मा ओलीले दिवसका अवसरमा शुभकामना सन्देश दिँदै पृथ्वीनारायण शाहप्रति उच्च सम्मान र श्रद्धा व्यक्त गरे। ओलीले शाहलाई भौगोलिक एकीकरणको नेतृत्वकर्ताको संज्ञा दिए।

संसदको चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पृथ्वीनारायण शाहलाई स–साना राज्यहरूलाई एकीकरण गरी आधुनिक नेपाल राज्य निर्माणको जग बसाल्ने राजाको रुपमा चित्रण गरे। उनले शाहको ३०२औं जन्मजयन्ती र सोही अवसरमा मनाइने राष्ट्रिय एकता दिवसको शुभकामनासमेत दिए।

राजतन्त्रको पक्षधर देशको पाचौं ठूलो दल राष्ट्रिय प्रजातन्त्र पार्टीले त पृथ्वीजयन्ती र राष्ट्रिय एकता दिवसको अवसरमा चियापान कार्यक्रम नै राखेको छ। राजतन्त्रको वकालत गरिरहेको र राजतन्त्र ल्याउनुपर्छ भनेर फागुनबाट निर्णायक आन्दोलनको तयारीमा लागेको दलका अध्यक्ष राजेन्द्र लिङ्देनले सिंहदरबार अगाडि रहेको पृथ्वीनारायण शाहको तस्बिरमा माल्यार्पण गरेर चियापानमा सहभागी हुन आव्हान गरे। राप्रपाले हरेक वर्ष पृथ्वी जयन्तीको अवसरमा चियापान गर्दै आएको छ।

यसरी देशका राष्ट्रप्रमुख समेत रहेका राष्ट्रपति राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रनिर्माताको तस्बिरमा पुष्पहार अर्पण गरी सम्मान प्रकट गर्दा देशको कार्यकारी प्रमुख प्रधानमन्त्रीको तर्फबाट एउटा विज्ञप्ति र शुभकामना सन्देशसमेत आएको छैन।

राजपरिवार र राजसंस्थाप्रति माओवादीको दृष्टिकोण सबैसामू जगजाहेर नै छ। उनीहरू राजसंस्थाप्रति अनुदार छन्। तर, प्रचण्ड अहिले माओवादी अध्यक्ष मात्र हैनन्, उनी यो देशको प्रधानमन्त्री पनि हुन्।

अन्य विभिन्न चाडबाड, पर्व र दिवसमा विज्ञप्ति र शुभकामनाको ओहिरो लगाउने प्रधानमन्त्री प्रचण्ड र उनको सचिवालयले राष्ट्रनिर्मातालाई सम्झनका लागि सानु चित्त बनाउनै पर्दैनथ्यो। तर, भयो त्यस्तै।

तत्कालीन गोरखाका राजा पृथ्वीनारायण शाहले विभिन्न सामाजिक, आर्थिक र भौगोलिक चुनौतीबीच जनताको उत्साहजनक सहयोग र सहभागितामा छरिएर रहेका बाइसे, चौबिसे राज्यलाई एकीकृत नगरेको भए सायद उनी अहिले नेपालको प्रधानमन्त्री हुने थिएनन्।

शाहको अभियानले राष्ट्रिय स्वाधीनता र सार्वभौममिकतालाई अक्षुण्ण राख्ने आधार तयार गरेका कारण विश्वका पुराना स्वतन्त्र राष्ट्रमध्ये नेपाल एक रहन पुगेको हो।

विसं १७७९ मा जन्मिएका शाहले २० वर्षको उमेरमा गद्दी आरोहण गर्दै तत्कालीन आन्तरिक तथा बाह्यशक्तिलाई पराजित गरेर एकीकरण अभियान सञ्चालन गरेका थिए। उनले आफ्नो शासनकालमा दिनुभएका ‘घूस लिने र दिने दुवै राष्ट्रका शत्रु हुन्’ भन्नेलगायत  दिव्योपदेश आज पनि भ्रष्टाचार न्यूनीकरण र सुशासन प्रवर्द्धन गर्ने सन्दर्भमा त्यतिकै समय सान्दर्भिक छन्।

भौगोलिक अवस्थाको पाटोलाई ध्यान दिँदै शाहले नेपाललाई दुई ढुङ्गाबीचको तरुलको संज्ञा दिएका थिए। पछिल्ला वर्षमा उनको योगदानका कदर गर्दै सरकारले पुस २७ गते पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस बनाउन सार्वजनिक बिदाको परम्परा पुनः सुरू गरेको छ। सरकारले बिदा दिन थालिसकेपछि यो  राष्ट्रिय पर्व नै हो।

नेपाली सेनाले पनि पृथ्वी जयन्तीका अवसरमा हरेक वर्ष सैनिक मुख्यालय भवन जङ्गीअड्डा परिसरमा रहेको राष्ट्रनिर्माताको पूर्णकदको सालिकमा माल्यार्पण गरी सम्मान प्रकट गर्दै आएको छ।

राष्ट्रनिर्माताले त्यसबेला दिएको अर्ति मुलुकमा सुशासन कायम गर्न निकै उपयोगी रहेको जनाउँदै कैयौँ सङ्घसंस्थाले विद्यालय तथा कलेजका पाठ्यपुस्तकमा समावेश गर्न माग गरेका छन्। उहाँको ५२ वर्षको उमेरमा विसं १८३१ मा निधन भएको थियो।

पुष २७, २०८० शुक्रबार १३:०७:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।