राष्ट्रपति पौडेलद्वारा सिंहदरबार पुगेर पृथ्वीनारायण शाहको शालिकमा पुष्पहार अर्पण

राष्ट्रपति पौडेलद्वारा सिंहदरबार पुगेर पृथ्वीनारायण शाहको शालिकमा पुष्पहार अर्पण

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको शालिकमा पुष्पहार अर्पण गरेका छन्।

३०२औं पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा सिंहदरबारको पश्चिम गेट अगाडि रहेको शाहको शालिकमा राष्ट्रपति पौडेलले पुष्पहार अर्पण गरेका हुन्।

नेपाली सेनाले राष्ट्रपति पौडेललाई सलामी अर्पण गरेको थियो। सैनिक टुकडीले पञ्चेबाजा बजाएको थियो।

तत्कालीन गोरखाका राजा शाहले विभिन्न सामाजिक, आर्थिक र भौगोलिक चुनौतीबीच जनताको उत्साहजनक सहयोग र सहभागितामा छरिएर रहेका बाइसे, चौबिसे राज्यलाई एकीकृत गरेका थिए।

उक्त अभियानले राष्ट्रिय स्वाधीनता र सार्वभौममिकतालाई अक्षुण्ण राख्ने आधार तयार गरेका कारण विश्वका पुराना स्वतन्त्र राष्ट्रमध्ये नेपाल एक रहन पुगेको छ।

विसं १७७९ मा जन्मिएका शाहले २० वर्षको उमेरमा गद्दी आरोहण गर्दै तत्कालीन आन्तरिक तथा बाह्यशक्तिलाई पराजित गरेर एकीकरण अभियान सञ्चालन गरेको थिए।

पुष २७, २०८० शुक्रबार ११:१४:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।