इजलासमै सरकारी वकिलमाथि खनिए ट्रम्प, न्यायाधीशले वकिललाई भने- 'आफ्नो ग्राहक सम्हाल्नुस्'

इजलासमै सरकारी वकिलमाथि खनिए ट्रम्प, न्यायाधीशले वकिललाई भने- 'आफ्नो ग्राहक सम्हाल्नुस्'

एजेन्सी : अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध न्यूयोर्कमा दर्ता भएको ठगी मुद्दाको सुनुवाइ बिहीबार सकिएको छ।

यस मुद्दाको सुनुवाइको अन्तिम दिन ट्रम्प म्यानहट्टन सर्वोच्च अदालत पुगेर अदालतमा महान्यायाधिवक्ताको कडा आलोचना गरे।

यस सन्दर्भमा ट्रम्प परिवारका सदस्यहरू र अधिकारीहरूले ऋण लिनको लागि भएको सम्पत्तिभन्दा धेरै देखाएको भन्दै एक न्यायाधीशले पहिले नै बताइसकेका थिए।

न्युयोर्कका न्यायाधीश आर्थर एन्गोरोनले यस महिनाको अन्त्यसम्ममा यस मुद्दामा अन्तिम फैसला दिने बताएका छन्। फैसलामा ट्रम्पलाई भारी जरिवाना लाग्ने अनुमान गरिएको छ। जसकारण ट्रम्प परिवारलाई व्यापार गर्न कठिनाई हुनसक्छ।

न्युयोर्कका महान्यायाधिवक्ता लेटिया जेम्सले न्यायाधीशसमक्ष ट्रम्पलाई ३७० मिलियन डलर जरिवाना लगाउन माग गरेका छन्।

डोनाल्ड ट्रम्पलाई न्यूयोर्कमा फेरि व्यापार गर्न प्रतिबन्ध लगाउनुका साथै उनले आफ्ना छोराहरू एरिक ट्रम्प र डोनाल्ड ट्रम्प जुनियरलाई पनि पाँच वर्षको प्रतिबन्धको मागसमेत उनीहरूले गरेका छन्।

महान्यायाधिवक्ता यतिमा मात्र रोकिएका छैनन्, उनले पाँच वर्षसम्म ट्रम्पको कम्पनीको सुपरिवेक्षणका लागि स्वतन्त्र अनुगमनकर्ता नियुक्त गर्न पनि माग गरेका छन्।

न्यायाधीश र महान्यायाधिवक्ताप्रति ट्रम्प रिसाए
महान्यायाधिवक्ताले बाेलेपछि बोलेका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले न्यायाधीशसमक्ष आफूविरुद्ध धोखाधडी भएको बताएका छन्।

उनी इजलासमै न्यायाधीश एङ्गोरोन र महान्यायाधिवक्ता जेम्समाथि खनिएका थिए। न्यायाधीश एङ्गोरोनले ट्रम्पका वकिललाई ट्रम्पलाई सम्हाल्नसमेत भन्नुपरेको थियो।

ट्रम्पले आफू निर्दोष रहेको दाबी गर्दै राष्ट्रपतिको उम्मेदवार हुन खोजेको भन्दै आफूलाई सताइरहेको आरोपसमेत लगाएका थिए।

पुष २७, २०८० शुक्रबार ०८:३९:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।