बाल यौन शोषणमा थुनामा गए बम्जन, बेपत्ता र सम्पत्तिको स्रोत अनुसन्धानमै

बाल यौन शोषणमा थुनामा गए बम्जन, बेपत्ता र सम्पत्तिको स्रोत अनुसन्धानमै

काठमाडौँ : मुद्दाको अन्तिम किनारा नलागेसम्म हिरासतमै राख्न आदेश आएपछि बिहीबार रामबहादुर बम्जनलाई जलेश्वरको कारागारमा राखिएको छ।

काठमाडौँमा मंगलबार बेलुका पक्राउ परेका उनलाई बुधवार काठमाडौँमा सार्वजनिक गरेर प्रहरीले रातारात सर्लाही पुर्याएको थियो। बाल यौन शोषणको अभियोगमा उनी विरुद्ध जिल्ला अदालत सर्लाहीमा मुद्दा दायर भइसकेको थियो।

यस अगाडि यही अभियोगमा दुई सह-अभियुक्त धरौटीमा छुटेका थिए।बिहीबार उनको बयान लिने, पक्ष-विपक्षको बहस सुन्नेक्रम सकाएर सर्लाही जिल्ला अदालतका न्यायाधीश विष्णुप्रसाद रेग्मीको इजलासले बम्जनलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिए।

आदेश अनुसार प्रहरीले उनलाई महोत्तरीको जलेश्वरमा रहेको कारागार पुर्याएर प्रशासनलाई बुझायो। जिल्लाको आदेश माथिल्लो अदालतबाट नउल्टिएको हकमा मुद्दाको अन्तिम फैसला नआएसम्म अब उनको दैनिकी कारागारमै बित्नेछ।

बिहीबार आदेश आएको घटना सर्लाहीको लालबन्दी नगरपालिका – १२ पत्थरकोटस्थित स्याङ्बो डाँडाको आश्रममा आनी बनेर बसेकी एक बालिकाको उजुरीको हो। २०७३ साउन २० गते राति विभिन्न प्रलोभन देखाएर जबरजस्ती करणी गरेकोभन्दै बम्जनविरुद्द उजुरी परेको थियो।

उनले २०७६ माघ २३ गते जिल्ला प्रहरी कार्यालय सर्लाहीमा उजुरी दिएकी थिइन्। बम्जन र उनका दुई चेलाविरुद्द परेको उजुरीमा अदालतबाट पक्राउ आदेश आयो। सरकारी वकिलको कार्यालयले २०७७ असार १८ गते सर्लाही जिल्ला अदालतमा अभियोग पत्र दर्ता गरेको थियो।

सह अभियुक्त रहेका ज्ञानकुमार बम्जन र जितबहादुर तामाङ अदालतमा उपस्थित भएर एक-एक लाख धरौटीमा रिहा भए। बम्जन फरारै रहे।

हत्या-बेपत्तामा के हुन्छ?
बम्जनविरुद्द आफ्ना चार अनुयायी बेपत्ता बनाएको, त्यसमध्ये एकजनाको हत्या गरेको समेत आरोपसमेत छ। यसमा विभिन्न जिल्लामा उजुरी परे पनि अनुसन्धान भने हुन सकेको छैन। अनुयायी चीनीमाया तामाङ, फुलमाया रुम्बा, सुरेशकुमार आले र सञ्चलाल वाइबा बेपत्ता छन्। यसमध्ये सन्चलालको हत्या भएको आशंका छ। तर यसबारे उजुरीबाहेक अन्य प्रमाण देखिन्न।

केन्द्रीय अनुसन्धान ब्युरोका प्रहरीले बेपत्ताहरूबारे सोधपुछ गर्दा उनले उनीहरू कता गए थाहा नभएको दाबी गरेका थिए। बम्जनले बेपत्ता बनाएको वा हत्या गरेकोबारे थप प्रमाण फेला परेको छैन।

मंगलबार पक्राउपर्दा उनको घरबाट तीन करोड ३० लाख नेपाली रुपैयाँ अनि ३० लाख ९२ हजार नेपाली रुपैयाँ बराबरको १७ देशका मुद्राहरू फेला पारेको छ। गाडी बरामद भएका छन्।

ब्युरोले यसबारे अलग्गै अनुसन्धान हुने बताइसकेको छ। यसमा सम्पत्तिको स्रोतबारे अनुसन्धान भएर सम्पत्ति शुद्दिकरणको कानुन आकर्षित हुनसक्छ। विदेशी मुद्दाको हकमा विदेशी विनिमयसम्बन्धी कानुन आकर्षित हुन्छ नै। 

पुष २६, २०८० बिहीबार २१:२३:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।